- विकेटनेपाल, २१ मङ्सिर
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको दोश्रो खेलमा पनि दिपेन्द्र ऐरी नखेल्ने भएका छन्।
विकटनेपाललाई प्राप्त जानकारी अनुसार पहिलो खेल अघि अभ्यास गरिरहेको बेला ऐरीको मुखमा बलले लागेको थियो। ऐरीको ओंठमा ५ वटा स्टिच लगाईएको छ। युएईसंग पहिलो खेल पनि नखेलेका ऐरी घाइते भएपछि उनको सट्टा अतिरिक्त खेलाडीको रुपमा युएई पुगेका अनिल शाहलाई टिममा स्थान दिईएको छ।
नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपालसंग कुरा गर्दै ऐरीको अवस्था चिन्ताजनक नरहेपनि खेलाएर टिमले जोखिम नलिएको हो। उनका अनुसार अभ्यासको क्रममा ऐरी बलिंग गर्दै गर्दा ब्याट्सम्यानले हानेको बलले मुखमा लागेको थियो। पहिलो खेल अघिनै मंगलबार चोट लागेको कारण ऐरी उक्त खेल खेलेका थिएनन्। ऐरी बिहिन खेलमा नेपालले युएईसंग ७ विकेटको पराजय बेहोरेको थियो।
पछिल्लो समय उत्कृस्ट फर्ममा रहेका ऐरी नेपाली ब्याटिंगको आधारस्तम्भ रहँदै आएका छन्। यसै साता आइतबार केन्यासंग खेलिएको अभ्यास खेलमा ऐरीले ४६ रनको आक्रामक इनिंग खेल्दै नेपालको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। शिर्ष ब्याट्सम्यानहरुले सुरुवातमै विकेट गुमाएपछि उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै केन्याबाट खेल खोसेका थिए।

ऐरी नखेल्ने भएपछि नेपाली टिमले महत्वपूर्ण खेलाडी गुमाउने छ। गत महिना मलेसियामा यु-१९ एसिया कपमा भारतलाई पराजित गर्ने क्रममा उत्कृस्ट ब्याटिंग र बलिंग गरेका थिए। टेस्ट रास्ट्र बिरुद्ध ऐतिहासिक जित हात पार्ने क्रममा ऐरीले ब्याटिंगमा ८८ रन तथा बलिंगमा ४ विकेट हात पारेका थिए।
बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि ऐरीले केन्यासंग यसै बर्ष मार्चमा नेपाली रास्ट्रिय टिमको लागि डेब्यु गर्दै दोश्रो खेलमा महत्वपूर्ण इनिंग खेल्दै अर्धशतक ( ६२ रन ) प्रहार गरेका थिए। त्यसपछि एसीसी एसीसी इमर्जिंग टिम्स कपमा ऐरीले बंगलादेश ( ५६ रन ) र हंगकंगसंग ( ६०* रन ) लगातार २ वटा अर्धशतक प्रहार गरेका थिए।
ऐरीको सट्टा अनिल टिममा
ऐरी नखेल्ने भएपछि १४ सदस्यीय टिममा ऐरीका यु-१९ टिमका साथी ब्याट्सम्यान अनिल शाहले मौका पाएका छन्। गत महिना यु-१९ युथ एसिया कपमा अफगानिस्तानसंग सेमीफाइनलमा ५० रनको इनिंग खेलेपछि रास्ट्रिय टिमको बन्दसत्रमा स्थान बनाएका शाह युएई टुरमा अतिरिक्त खेलाडीको रुपमा पुगेका थिए। उनिसंगै कुशल भुर्तेल पनि अतिरिक्त खेलाडीको रुपमा युएईमा छन्।
अमेरिका र केन्यासंग भएको अभ्यास खेलमा मौका पाएपनि शाहल प्रभावित भने बनाउन सकेका थिएनन्। अमेरिकासंग तेश्रो नम्बरमा ब्याटिंग गरेका उनि खाता नखोली आउट भएका थिए भने केन्यासंग १३ रन बनाएर आउट भएका थिए।

युएईसंग पहिलो खेल हारेको अवस्थामा दोश्रो खेलमा अनिलले अन्तिम ११मा मौका पाउनेछन् या छैनन् प्रतिक्षाको बिषय हुनेछ। पहिलो खेलमा आरिफ शेख, बिनोद भण्डारी जस्ता ब्याट्सम्यानहरु लयमा नरहेको बेला अनिलले मौका पाउने सम्भावना पनि नकार्न सकिन्न।
बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली टिम उत्कृस्ट ४ मा स्थान बनाउन नसकी डिभिजन-२ मा झरीसकेको अवस्था रहेको छ। युएईसंग पहिलो खेलमा पराजय पछि नेपाली टिम दोश्रो खेलमा जित हात पार्दै फेब्रुअरीमा नामिबियामा आयोजना हुने डिभिजन-२ मा जितको लयका साथ जान चाहन्छ।
च्याम्पियनसिपको अंकतालिकामा नेपाल ९ अंक सहित युएई भन्दा १ स्थान माथि छैठौं स्थानमा रहेको छ। नेपालको ९ अंक छ भने युएईको ८ अंक। नेपाल भन्दा १ स्थान माथि केन्याको समान १३ खेलमा १२ अंक रहेको छ। अंकतालिका
बुधबार सेख जायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको नेपालले पहिलो इनिंगमा बनाएको २२१ रनको जवाफमा ब्याटिंग गरेको युएईले २५ बल बाँकी छदै मात्र ३ विकेट गुमाई लक्ष पुरा गर्दै खेल ७ विकेटले जितेको थियो। स्कोरकार्ड
१४ सदस्यीय नेपाली टिम
पारस खड्का ( कप्तान ) ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, शक्ति गौचन, बिनोद भण्डारी, अनिल शाह , सन्दिप लामिछाने, सोमपाल कामि, करन केसी, ललित भण्डारी, आरिफ शेख, दिलिप नाथ