नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-ट्वान्टी खेल्ने भएका छन् ।
मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सरे ज्याग्वार आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो ।
सरेमा सन्दीपका अलावा एलेक्स हेल्स, लिटन कुमार दास, जेसन बेहरेनड्रार्फ जस्ता खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी रहेका छन् ।
ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
दीपेन्द्र भने पहिलो पटक विदेशी लिग खेल्दै छन् । विदेशी लिग खेल्ने दीपेन्द्र छैटौं नेपाली खेलाडी हुन् । यस अघि नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागिता जनाइसकेका छन् ।
ग्लोबल टी-ट्वान्टी खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।
