- विकेटनेपाल,असोज ३ – बुधबार
अक्टोबर ३ देखि मलेसियामा सुरु हुने टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) प्रतियोगिताको लागि १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ।
घोषित प्रारम्भिक टिममा एसिया कप छनौटको लागि छानिएको प्रारम्भिक टिममा रहेका रोहित पौडेल, सुशन भारि र किशोर महतोलाई समाबेश गरिएको छैन। यस्तै एसिया कप छनौटमा सुस्त इन्निंग खेल्दा आलोचित सुबास खकुरेल समेत प्रारम्भिक सुचीमा छैनन्।
रोहित पौडेललाई यु-१९ युथ एसिया कप खेल्नको लागि प्रारम्भिक टिममा नराखिएको हो भने किशोर पनि यु-१९ राष्ट्रिय टिममा रहेका छन्।
१८ सदस्यीय प्रारम्भिक नेपाली टिम
पारस खड्का ( कप्तान ) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला
देब्रे हाते स्पिनर सुशन भारिलाई प्रारम्भिक टिममा स्थान दिईएको छैन जसको सट्टा अर्का देब्रे हाते स्पिनर शाहब आलमलाई टिममा राखिएको छ। यस्तै मिडियम पेसर किशोर महतोको स्थानमा अर्का मिडियम पेसर दिपेश श्रेष्ठलाई टिममा फिर्ता बोलाईएको छ।
दिपेश दायाँ हाते मिडियम पेस बलर हुन् र नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका छन्।
को हुन् दिपेश श्रेष्ठ ?
बंगलादेशमा गत बर्ष २०१७ मार्चमा सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका दिपेश श्रेष्ठले त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन्।

इमर्जिङ्ग टिम्स कपमा सोमपाल कामि र करन केसीको अनुपस्थितिमा मौका पाएका दिपेशले पाकिस्तान यु-२३ संग एक मात्र खेल खेल्ने मौका पाएका थिए। त्यस खेलमा पनि उनले मात्र ४ ओभर बलिङ्ग गर्न पाएका थिए जुन क्रममा २१ रन खर्चेर विकेट भने निकाल्न सकेका थिएनन्। उक्त खेल नेपाल ६ विकेटले पराजित भएको थियो।
चितवन घर भएका दिपेश चितवन क्रिकेट एकेडेमीको उत्पादन हुन्। श्रेष्ठले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब, क्षेत्र नम्बर -८ पोखरा, २०१७ एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीएटर्स तथा २०१८ डिपीएलमा रुपन्देही च्यालेन्जर्सको प्रतिनिधित्व गरिसकेका छन्।
यु-१९ बिश्वकप सम्मको यात्रा
बि.सं. २०७१ सालको एकदिवसीय यु-१९ राष्ट्रियमा क्षेत्र नम्बर ८ पोखरा फाइनल पुग्दा टिमको सदस्य रहेका दिपेशले त्यसैबर्ष यु-१९ राष्ट्रिय टिममा स्थान बनाए।
२०१४ नोभेम्बरमा कुवेतमा सम्पन्न एसीसी यु-१९ मा पहिलो पटक राष्ट्रिय टिममा अटाएका श्रेष्ठले त्यस प्रतियोगितामा २ खेलमा मात्र मौका पाए। साउदी अरब र कुवेतसंग २/२ विकेट लिए पनि त्यसपछि भने उनलाई मौका दिईएन।
त्यसपछि मलेसियामा आयोजित २०१५ को एसीसी यु-१९ प्रिमियर लिगमा स्थान बनाएका श्रेष्ठले ५ खेलमा २ विकेट लिन सके जुन क्रममा मलेसियासंग एक खेलमा २ विकेट ( ९-४-२८-२ ) लिए।

त्यसपछि सन् २०१५ मा मलेसियामा सम्पन्न यु-१९ बिश्वकप छनौटमा स्थान बनाएका दिपेशले मात्र २ खेलमा मौका पाउदा ३ विकेट लिए। ३ विकेट उनले युगान्डासंग एकै खेलमा लिएका थिए।
त्यसपछि २०१६ मा बंगलादेशमा सम्पन्न यु-१९ बिश्व कपको टिममा स्थान बनाए पनि दिपेशले कुनै पनि खेलमा मौका पाएनन्। अभ्यास खेलमा पाकिस्तानसंग पाएको मौकामानै श्रेष्ठले चित्त बुझाउनु पर्यो।
घरेलु क्रिकेटमा प्रदर्शन
घरेलु क्रिकेटको कुरा गर्दा सन् २०१६को एभरेस्ट प्रिमियर लिगमा पारस खड्का कप्तानीको बिशाल वारियर्स, सन् २०१७ मा शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्स , २०१८ धनगढी प्रिमियर लिगमा शक्ति गौचन कप्तानीको रुपन्देही च्यालेन्जर्सको प्रतिनिधित्व गरेका श्रेष्ठ नेपाल पुलिस क्लबको लागि राष्ट्रिय क्रिकेट खेल्ने गर्छन्।
२०१६ ईपीएलमा उनले २ खेलमा ५ विकेट लिएका थिए जुन क्रममा उनले पन्चकन्या तेजबिरुद्ध ४ विकेट लिएका थिए।

२०१७ को ईपीएलमा भैरहवा ग्लाडीएटर्सको लागि खेल्ने क्रममा ६ खेलमा ९ विकेट लिंदै धेरै विकेट लिने सुचीमा दिपेश छैठौं स्थानमा रहेका थिए। त्यस क्रममा उनले ललितपुर प्याट्रिएट्स र काठमाडौँ किंग्स ११ बिरुद्ध ३/३ विकेट तथा पोखरा राइनोज बिरुद्ध २ विकेट लिएका थिए।
यसै बर्षको धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्सको लागि खेल्दै उनले ५ खेलमा ५ विकेट लिएका थिए भने प्रधानमन्त्री कपमा एउटा मात्र खेलमा मौका पाउदा विकेट बिहिन रहेका थिए।