- विकेटनेपाल, असोज २२
रौतहट प्रिमियर लिग टि-२० प्रतियोगिताको सेमीफाइनल समीकरण आइतबार पुरा भएको छ। तेश्रो र चौथो क्वार्टरफाइनल खेल जित्दै नेपाल पुलिस क्लब र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरेको हो।
पुलिसले नेक्सस क्रिकेट एकेडेमीलाई तथा ग्रेट हिमालयले महाकाली क्रिकेट क्लबलाई पराजित गर्यो।
पुलिसको जितमा प्रेम तामांग र दिपेश श्रेष्ठको प्रदर्शन
टस जितेर ब्याटिंग रोजेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १३३ रनको योगफल तयार गरेको थियो। उसको लागि प्रेम तामांगले ४०, अमित श्रेष्ठले ३० तथा अविनाश कर्णले २६ रनको योगदान दिए। तामांगले ४१ बलमा ४ चौका र १ छक्का तथा श्रेष्ठए २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
नेक्ससका बलर बिशाल पौडेलले ३ ( ४-०-४१-३ ) तथा अर्जुन गिरिले २ ( ४-०-१७-२ ) विकेट हात पारे।
१३४ रन लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरे पनि नेक्ससले १२६ रन मात्रै बनाउन सक्दा मात्र ७ रनको पराजय बेहोर्यो।

ओपनिङ्ग ब्याट्सम्यान महेस रानाले नेक्ससको लागि उत्कृस्ट ब्याटिंग गर्ने क्रममा सव्र्वाधिक ६३ रन बनाए जुन क्रममा ६१ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। त्यस बाहेक बिशाल पौडेलले १० रन बनाए पनि अन्य नेक्सस ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन्। पुलिसले १८ रन अतिरिक्तको रुपमा खर्चियो।
पुलिस बलर दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट ( ४-०-१९-३ ) लिए र प्लेयर अफ द म्याच समेत चुनिए। यस्तै योगेन्द्र कार्कीले २ ( ४-०-१५-२ ) तथा सुनिल धमलाले १ विकेट ( ४-०-१६-१ ) हात पारे।
सोनु तामांगको अल-राउण्ड प्रदर्शनमा ग्रेट हिमालयको जित
टस जितेर ब्याटिंग रोजेको ग्रेट हिमालयले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनायो। सोनु तामांगले ३५ रन ( ३७ बल, २ चौका र १ छक्का ) तथा इशान पाण्डेले २० र भुपेन्द्र थापाले १९ रन बनाए। महाकाली क्रिकेट एकेडेमीको लागि सुनिल सुनारले २ विकेट लिए।

१२२ रन लक्ष्य पछ्याउने क्रममा १८.१ ओभरमा महाकालीले ९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। शुबेन्दु पाण्डेले ३४ रन ( २६ बल, ५ चौका र १ छक्का ) तथा नरेश बोहराले २५ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले २ अंक छुन सकेनन्।
ग्रेट हिमालयका बलर बिक्रम सोब ( ३.१-०-५-४ ) तथा सोनु तामांग ( ४-०-१५-४ ) ले समान ४/४ विकेट हात पारे।
खेलको प्लेयर अफ द म्याच सोनु तामांग चुनिए।
प्रतियोगिताको सेमीफाइनल खेलहरु सोमबार खेलिनेछन्। पहिलो सेमीफाइनल खेलमा मलपोखरी क्रिकेट क्लब र नेपाल पुलिस क्लब तथा दोश्रो सेमीफाइनल खेलमा ओएसीस क्रिकेट एकेडेमी र वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्।