सुरु हुँदै नेपालको डिभिजन-२ तयारी

  • विकेटनेपाल, १८ पौष

फेब्रुअरीको दोश्रो साता देखि नामिबियामा सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को लागि नेपाली टिमले तयारी थाल्ने भएको छ।

फेब्रुअरी ८ देखि १५ सम्म संचालन हुने ( मितिले आधिकारिकता पाएको छैन ) भनिएको डिभिजन-२ को लागि नेपाली टिमले जनवरी ५ ( पौष २१ ) देखि तयारी थाल्ने योजना बनाएको प्रशिक्षक जगत टमाटाले विकेटनेपाललाई जानकारी गराएका छन्।

“हामीले आईसीसीलाई जनवरी ५ देखि तयारी सुरु गर्न पत्राचार गरिसकेका छौँ र आज भोलिमा आईसीसीको निर्णय आउनेछ”

बन्दसत्रको लागि २२ सदस्यीय टिमको चयन गरिसकीएको र त्यसको लागि पनि आईसीसीको सहमतिको प्रतिक्षा रहेको टमाटाले बताए। टमाटाका अनुसार टिमको छनौट च्याम्पियनसिपकै प्रदर्शनको आधारमा गरिएको तथा इपिएल टि-२० मा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत प्रारम्भिक टिममा समावेश गरिएको छ।

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन्।

Jagat Tamata

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपाल संगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

तयारीको लागि दक्षिण अफ्रीका जान सक्ने 

नामिबियामा हुने डिभिजन-२ को तयारीको लागि नेपाली टिमले दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्न सक्नेछ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार नेपालले प्रतियोगिता अघि १० दिने दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्नेछ। आईसीसीको सहमति पछि दक्षिण अफ्रीका भ्रमण पक्का हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy