धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

धनगढी ११ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट क्लब विजयी भएका छन् । बुधवारको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ । छैटौँ दिनको खेल जारी रहँदा लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउण्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो ।

धनगढी स्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै ५ महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएपछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुन पुग्यो । ६१ रनको सामान्य विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले ६.२ ओभरमा विना कुनै विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि उत्कृष्ट बलिङ गरेका बोहराले ब्याटिङ तर्फ २३ बलमा ७ चौकाको मद्दतले ३६ रनको अविजित पारी खेले । उसका मनिस थापाले अविजित १९ रन बनाए ।

त्यस अघि देउखुरीका लागि दिनेश अधिकारी र दिवान पुनले १७/१७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देउखुरीलाई सस्तैमा समेट्न लिटल फ्लावरका बोहराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ८ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । इनिङको पहिलो ओभर १ रनमा विकेट विहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई १ र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई ४ रनमा बोल्ड आउट गरे । त्यसपछि चौथो ओभरमा बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए । उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई १ रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै टिमलाई उत्कृष्ट सुरुवात दिलाए । उसका कौशल रुपाखेतीले ३ र प्रकाश जैसी तथा सन्दीप खत्रीले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका बोहरा चुनिए ।

बुधवारको दोस्रो खेलमा महेन्द्रनगर क्रीकेट एकेडेमीमाथि कैलाली जिल्ला क्रीकेट क्लबले ६ विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रीकेट क्लबले १७ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि राजन सिंहले अविजित ४० रन बनाउँदा दिनेश ओडले ३० रन बनाए । अर्जुन साउदले २४ रन बनाए ।

त्यस अघि महेन्द्रनगरका लागि आयुष्मान् बमले ३४ र राहुल भण्डारीले २१ रन बनाएका थिए । बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका अर्जुन साउद, नरेन साउद र शेर मल्ले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अर्जुन साउद चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा जारी प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]