डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी क्रीकेट एकेडेमी र महेन्द्रनगर क्रीकेट क्लब विजयी भएका छन् । धनगढी स्थित सङ्घीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगितामा आइतबारको पहिलो खेलमा बुङगल क्रीकेट क्लब बझाङलाई पराजित गरी धनगढी क्रीकेट एकेडेमी दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई पराजित गरी महेन्द्रनगर क्रिकेट क्लब विजयी भएको हो ।

आइतबारको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले आफ्नो पहिलो जित निकालेको छ । बझाङको बुङगल क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै धनगढी क्रिकेट एकेडेमीले आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले १६.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । उसका लागि किरण कुमार ठगुन्ना र सन्दीप विष्टले १८/१८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । डीसीएको बलिङ तर्फ हिक्मत महराले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए । त्यस्तै सुवास ऐर र अरुण ऐरीले २/२ विकेट लिए ।

त्यस अघि डीसीएका लागि राजु रिजालले ४१ बलमा ५४ रनको अर्धसतकीय पारी खेले । उसका भोजराज भट्टले ३२ रन बनाए । बलिङ तर्फ बुङगलका लोकेन्द्र चन्द र अशोक धामीले २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच हिक्मत चुनिए ।

आइतबारको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई १ सय १६ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लबले विशाल जित दर्ता गर्‍यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल ८.२ ओभरमा अलआउट हुन पुग्यो । महेन्द्रनगरका विकास आग्रीले घातक बलिङ गरेपछि लिटल फ्लावर ३७ रनमै अलआउट भएको हो । उसका नरेन भट्टले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । बलिङ तर्फ महेन्द्रनगरका विकास आग्रीले २.५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिए । उसका हेमन्त धामी र विपिन धामीले २÷२ विकेट लिए ।

त्यस अघि महेन्द्रनगरका लागि रोशन साउदले टिमलाई ५० रनको अर्धसतकीय योगदान दिए । अनुराग सिंहले ३१ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका प्रकाश जैशीले ३ र सन्दीप खत्री र कृष्ण कार्कीले २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच विकास चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।

प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली, स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेको छ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]