डी-स्पोर्ट्सले इपिएल प्रत्यक्ष प्रशारण गर्ने, पढ्नुस के-के हुनेछन् विशेषता

नेपाली खेलकुद इतिहासमै पहिलो पटक विदेशी च्यानलले नेपाली लिगको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

फाल्गुन १७ देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग टि-२० प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न मंगलबार डी-स्पोर्ट्ससंग सम्झौता सम्पन्न भएको छ। राजधानीको सोल्टी होटलमा आयोजित एक कार्यक्रम बीच इपिएलका संस्थापक आमिर अख्तर र डी स्पोर्ट्सका सीओओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस अघि नेपालमा आयोजना हुने टि-२० लिगहरुको प्रत्यक्ष प्रशारण नेपाली टेलिभिजन च्लेयानल गर्दै आएको थियो। इपिएल र डीपीएलको प्रत्यक्ष प्रशारण एपीवान टिभीले गर्दै आएको थियो भने गत वर्ष सुरु भएको पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गरेको थियो।

सम्झौता समारोहमा बोल्दै इपिएल संस्थापक अख्तरले सम्झौता पछि इपिएल विश्वस्तरमा पुगेको बताए – “डीस्पोर्ट्ससंगको सम्झौताले अब इपिएल र नेपाली क्रिकेटलाई हामीले विश्वस्तरमा प्रबर्द्धन गर्न सक्छौं। साथै अख्तरले डी स्पोर्ट्सको प्रशारण अन्तर्राष्ट्रिय स्तरको हुने समेत विश्वास व्यक्त गरे।

यस्तै डीस्पोर्ट्सका सीओओ शरणले इपिएललाई डीस्पोर्ट्स मार्फत नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने बताए- “इपिएलको दौरान दर्शकहरु टिभी स्क्रिनमा झुम्मिउन भन्ने चाहन्छौं। हामि इपिएललाई डीस्पोर्ट्समा देखाउन पाउदा उत्साहित छौँ।”

“एउटा क्रिकेट प्रेमीको रुपमा नेपालमा क्रिकेट विकास भएको हेर्न हामि हर्षित छौँ। व्यवसायिक रुपमा आयोजना हुने इपिएल जस्तो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत गर्ने अवसर हो। डीस्पोर्ट्सले अन्तर्राष्ट्रिय दर्शक तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गर्नेछौँ”” उनले थपे।

डीस्पोर्ट्सले यस अघि बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, तथा गत वर्ष भारत,बंगलादेश र श्रीलंका सम्मिलित निधास ट्रफीको प्रत्यक्ष प्रशारण गरिसकेको छ।

के छ सम्झौतामा 

सम्झौता अनुसार डी स्पोर्ट्ससंग प्रतियोगिताको प्रत्यक्ष प्रशारण विश्वभर गर्ने साथै खेलको विश्लेषण, पुरस्कार वितरण समारोह, पत्रकार सम्मेलन, इपिएल प्रवर्धन गर्ने अधिकार रहेको छ। सम्झौता लगत्तै डी सपोर्टले इपिएलको प्रवर्धन सुरु गर्नेछ जुन प्रतियोगिता समाप्तिसम्म जारि रहनेछ।

डीस्पोर्ट्ससंगको सम्झौता कस्तो हो भन्ने जानकारी सार्वजनिक गरिएको छैन। विकेटनेपाललाई जानकारी भए अनुसार डीस्पोर्ट्सलाई प्रशारण गरे बापत इपिएलले पैसा तिर्नुपर्नेछ। यस अघि एपीवान टिभीले २०१७ मा इपिएलको प्रत्यक्ष प्रशारण सम्झौता गर्दा इपिएललाई एपीवानले वार्षिक १ करोड प्रदान गर्ने सम्झौता गरेको थियो।

कस्तो हुनेछ प्रोडक्सन

डी स्पोर्ट्सले पुरा प्रशारण अंग्रेजीमा गर्नेछ। विदेशी कमेन्टेटर र प्रस्तोताहरुको प्रयोग प्रशारणको दौरान गरिनेछ। प्रशारणको लागि १२ देखि १५ वटा एचडी क्यामरा प्रयोग गरिनेछ जसमा जुम ४०× लेन्स प्रयोग हुनेछ। यस्तै थर्ड अम्पायर, विसुद्ध क्रिकेट ग्राफिक्स, कम्प्युटराइज्ड स्कोरिंग र आंकडाहरु देखाइनेछ।

नेपाली च्यानलले गर्ला प्रशारण ? 

डीस्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएता पनि प्रतियोगिताको नेपाली च्यानलले पनि संगै प्रशारण गर्ने पनि सम्भावना रहेको छ। डीस्पोर्ट्सले उत्पादन गरेको फिड प्रयोग गरेर नेपाली च्यानलले पनि प्रत्यक्ष प्रशारण गर्नसक्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। तथापी कुन नेपाली च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भने सम्झौता भएको छैन।

डी स्पोर्ट्सले टिभीमा प्रशारण गरेता पनि अनलाइन प्रशारणको अधिकार भने इपिएलले अरुलाई बेच्न पाउनेछ। गत वर्ष एपीवानले टिभीमा प्रत्यक्ष प्रशारण गरेको थियो भने  युट्युबमा इपिएल प्रशारण भएता पनि नेपालमा भने हेर्न मिल्ने गरिएको थिएन। नेपालमा एपहरु मार्फत हेर्न मिल्ने भएता पनि पैसा तिरेर मात्र हेर्न पाइने व्यवस्था रहेको थियो। यो पटक पनि अनलाइनमा हेर्नको लागि अघिल्लो वर्ष जस्तै व्यवस्था हुनेछ।

इपिएलको तेश्रो सिजन फाल्गुन १७ देखि चैत १ गते सम्म आयोजना हुनेछ। प्रतियोगितामा पोखरा राइनोज, काठमाडौँ किंग्स-११, भैरहवा ग्ल्याडीएटर्स, बिराटनगर वारियर्स, चितवन टाइगर्स र ललितपुर पेट्रिएट्स गरि ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तानीको टिम ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।

यो पटक इपिएलको प्रत्येक टिममा टेस्ट राष्ट्रको लागि खेलिसकेका खेलाडी अनिवार्य आइकोनिक खेलाडीको रुपमा समावेस गर्नुपर्ने घोषणा भइसकेको छ।

अघिल्लो सिजनको टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका रिचर्ड लेभी पोखरा राइनोजबाट खेलेका थिए।यस्तै टेस्ट राष्ट्र आयरल्याण्डका पल स्टरलिङ्ग चितवन टाइगर्सबाट तथा आयरल्याण्डकै केभिन ओ ब्रायन काठमाडौँ किंग्स-११ बाट खेलेका थिए। टेस्ट राष्ट्र बाहेक नेदरल्याण्डका रोल्फ भानडर मर्वे, रायन टेन डोसेथे , पल भान मिकिरन खेलेका थिए। यस्तै युएईका रोहन मुस्तफा, मोहम्मद नबिद, हंगकंगका बाबर हायात जस्ता खेलाडी खेलेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy