सनसनीपूर्ण दोश्रो क्वालीफायरमा ब्राम्पटन वुल्भ्सलाई पराजित गर्दै विन्नीपेग हक्स ग्लोबल टि-२० क्यानडाको फाइनल प्रवेश गरेको छ। ब्राम्पटनले टस जितेर ब्याटिंग गर्दै दिएको २०१ रनको लक्ष्य विन्नीपेगले अन्तिम बलमा भेटाउदै रोमान्चक जित हाँसिल गरेको हो।
अब प्रतियोगिताको फाइनल खेल विन्नीपेग हक्स र भान्कुभर नाइट्स बीच आज राति ११:४५ बजे खेलिनेछ। भान्कुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई पराजित गर्दै फाइनल पुगीसकेको थियो। यस्तै विन्नीपेगले इलिमीनेटरमा टोरोन्टोलाई पराजित गर्दै दोश्रो क्वालीफायरमा पुगेको थियो।
अनवर, डुमिनि र स्मिथले विस्फोटक ब्याटिंग गर्दै दिलाए जित
२०१ रनको लक्ष्य पछ्याउने क्रममा विन्नीपेग ओपनर शैमन अनवर र क्लेरिस लिनले विस्फोटक सुरुवात दिलाए।
अनवर सातौँ ओभरमा आउट हुनु अघि ५२ रन बनाए जुन क्रममा मात्र २३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। युएई खेलाडी अनवरले २१ बलमा अर्धशतक पुरा गरे जुन क्रममा वहाव रियाजले गरेको पाँचौ ओभरमा १ छक्का र ३ चौका मदतले १८ रन बनाए। पहिलो विकेटको लागि लिन र अनवर बीच ६.१ ओभरमा ७६ रनको साझेदारी भयो।

लिन ३५ रन ( २० बलमा ३ छक्का र ३ चौका ) बनाएर आठौँ ओभरमा अफ्रिदीबाट आउट भए। त्यसपछि तेश्रो विकेटको लागि जेपी डुमिनि र सन्नी सोहलले ६९ रनको साझेदारी गरे।
सोहललाई १७ औं ओभरमा रियाजले क्याच आउट गर्दै खेलमा फर्काए। सोहलले ३२ बलमा ४१ रन बनाए। तर त्यसपछि डुमिनि र ड्वेन स्मिथले विकेट नदिई विस्फोटक इनिंग खेल्दै टिमलाई जिततर्फ डोर्याए।
अन्तिम २ ओभरमा जितको लागि विन्नीपेगलाई २७ रन आवस्यक थियो जुन बेला वहाव रियाजले गरेको १९ औं ओभरको पांचौ र छैठौ बलमा ड्वेन स्मिथले लगातार छक्का प्रहार गरेका थिए। त्यसपछि अन्तिम ओभरमा जित्न १३ रन आवस्यक रह्यो।
रोमान्चक अन्तिम ओभर
अन्तिम ओभरमा बलिंग गर्न आए सिसिल परभेज जसको पहिलो बलमा डुमिनिले २ रन लिए भने दोश्रो बलमा १ रन लिंदै स्मिथलाई स्ट्राइक दिए। तेश्रो बलमा स्मिथको प्याडमा लागेर चौका हुन पुग्यो। अब ३ बलमा ५ रन आवस्यक थियो जुन बेला चौथो बलमा स्मिथले १ रन मात्रै बनाउन सके। पाँचौ बलमा डुमिनिले पोइन्टमा चौका प्रहार गर्दै जितको अन्तर १ बलमा १ रन पुर्याए। फिल्डर घेरेर बसे पनि डुमिनिले मिड विकेट माथि प्रहार गर्दै १ रन लिए र टिमलाई जिताए।
डुमिनिले अन्तिम बलमा अर्धशतक पुरा गरे र ३४ बलमा ३ चौका र ३ छक्का मदतले ५० रनमा अविजित रहे। यस्तै स्मिथले ११ बलमा २ छक्का मदतले १७ रन बनाए।
ब्राम्पटनको ब्याटिंग
यस अघि पहिले ब्याटिंग गर्ने क्रममा ब्राम्पटनले सुरुवात देखि लगातार अन्तरालमा विकेट गुमाए पनि मध्यक्रम र तल्लो क्रमका ब्याट्सम्यानहरुले योगदान दिंदा २० ओभरमा ७ विकेट गुमाएर २०० रनको योगफल तयार गर्न सक्यो।
ब्राम्पटनओ लागि कप्तान डेरेन स्यामीले सर्वाधिक ३३ ( २२ बलमा ४ चौका र २ छक्का ), बाबर हायातले ३२ रन ( २४ बलमा १ चौका र ३ छक्का ) , शहिद अफ्रिदीले ३२ रन ( १६ बलमा १ चौका र ३ छक्का ) बनाए। वहाव रियाजले अविजित २३ रन बनाए।
विन्नीपेग बलर रायड इमरिटले सर्वाधिक ३ ( ४-०-४३-३ ) तथा कलिम सानाले २ तथा मोहम्मद इरफान र पल भान मिकीरनले १/१ विकेट लिए।

सोमपालले गरे अफ्रिदीको क्याच
खेलमा अन्तिम-११ मा मौका नपाएता पनि सोमपालले फिल्डिंगमा भने मौका पाएका थिए। सब्सटिट्युट फिल्डरको रुपमा आएका उनले आक्रामक ब्याटिंग गरिरहेका शहिद अफ्रिदीको १९ औं ओभरमा क्याच लिए। डिप कभरमा अफ्रिदीले प्रहार गरेको कडा प्रहारलाई सोमपालले क्याच गर्न कुनै गल्ति गरेनन्। अफ्रिदीले १६ बलमा ३ छक्का र १ चौका मदतले ३२ रन बनाएका थिए।
नेपाली अल-राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए। उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए।