ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप : अर्किडलाई चितवन छनोटको उपाधि

२०८१ पुष ९, मंगलवार २२:२४

ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ।

च्याम्पियनसिपको सात वटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना हुनेछ जसपछि सबै प्रदेशका विजेताहरु र आयोजक एक टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

भरतपुर स्थित गौतम बुद्ध नमुना अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न च्याम्पियनसिपको पहिलो छनोट प्रतियोगिताको उपाधि जितेको अर्किडले फाइनलमा सनराइज इंगलिस स्कुललाई १५ रनले पराजित गर्यो।

अर्किडले दिएको ७७ रनको लक्ष्य पछ्याएको सनराइजले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो। सनराइजका विनायक थापाले सर्वाधिक २४ रन बनाए। अर्किडका मन्दिप बरालले २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अर्किडले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ७६ रन बनायो। उसको लागि आयुष न्यौपानेले २४ तथा मन्दिप बरालले १२ रन बनाए। सनराइजका उज्वल पटेल र मन्दिप यादवले समान ३ विकेट लिए।

उपाधि सहित अर्किडले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।

यस अघि मंगलबारनै सम्पन्न पहिलो सेमीफाइनलमा अर्किडले वाल्मिकीलाई तथा सनराइजले न्यु क्यापिटल कलेजलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

दुई दिन चलेको चितवन छनोटमा ८ टिमको सहभागिता रहेको थियो।

हाईप यति इभेन्ट्सले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आगामी छनोट प्रतियोगिता कोशी प्रदेशमा हुनेछ। पुष १४ देखि १६ गते सम्म इटहरीको डीभीएम मैदान इटहरीमा उक्त प्रतियोगिता हुनेछ।

७ वटा प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भएपछि माघ ९ देखि १३ गतेसम्म काठमाडौँमा ८ टिम बीच उपाधिको लागि प्रतिस्पर्धा हुने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy