इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत २४ औं खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानलाई १५० रनले पराजित गरेको छ।
ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो।
जित सहित ५ खेलमा ४ जित र १ हार बेहोरेको इंग्ल्याण्ड प्रतियोगिताको अंकतालिकामा शिर्षस्थानमा उक्लेको छ। अफगानिस्तान भने सबै पांच खेल हार्दै पुछारमा रहेको छ। समान ८ अंक रहे पनि अस्ट्रेलिया नेट-रन रेटमा पछि रहँदै दोश्रो, ७ अंकका साथ न्युजिल्याण्ड तेश्रो र ७ अंक सहित भारत चौथो स्थानमा रहेको छ।
इंग्ल्याण्डले दक्षिण अफ्रीका, बंगलादेश र वेस्ट इन्डिजलाई पराजित गर्दा पाकिस्तानसंग हार बेहोरेको थियो। अफगानिस्तानले भने यस अघि अस्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, दक्षिण अफ्रीकासंग हार बेहोरेको थियो।
विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि हश्मतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाए जुन क्रममा १०० बलमा ५ चौका र २ छक्का प्रहार गरे। रहमत शाहले ४६, अस्घर अफ्घानले ४४, गुल्बदीन नैबले ३७ रन बनाए। तेश्रो विकेटको लागि शाहिदी र अफ्घानले ९४ रनको साझेदारी गरेका थिए।
इंग्ल्याण्ड बलर आदील रशिद ( १०-०-६६-३ ) र जोफ्रा आर्चर ( १०-१-५२-३ ) ले ३/३ विकेट तथा मार्क वुडले २ विकेट ( १०-१-४०-२ ) लिए।
मोर्गनको विशाल इनिंग
यस अघि ओल्ड ट्रयाफर्ड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको विशाल योगफल तयार गरेको छ।
इंग्ल्याण्डको लागि कप्तान ओएन मोर्गनले विस्फोटक इनिंग खेल्दै १४८ रन बनाए। उनले मात्र ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गरे। यस्तै जोनी बेयरस्टोले ९० ( ९९ बलमा ८ चौका र ३ छक्का ) तथा जोय रुटले ८८ ( ८२ बलमा ५ चौका र १ छक्का ) प्रहार गरे। मोइन अलिले ३१ ( ९ बलमा ४ छक्का र १ चौका ) रन बनाए।
बेयरस्टो र रुटले दोश्रो विकेटको लागि १२० रनको तथा रुट र मोर्गनले तेश्रो विकेटको लागि १८९ रनको साझेदारी गरेका थिए।
अफगानिस्तानको बलिंगमा कप्तान गुल्बदीन नैब ( १०-०-६८-३ ) र दौलत जद्रान ( १०-०-८५-३ ) ले ३/३ विकेट लिए।
खेलको दौरान बनेको रेकर्डहरु
राशिद इतिहासकै महँगो
निकै महँगो सावित हुने क्रममा राशिद खानले ९ ओभर बलिंग गर्दै ११० रन खर्चिए। विश्वकपमा कुनै पनि बलरको यो सबैभन्दा महाग्नो स्पेल हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको यो इतिहासकै दोश्रो महँगो स्पेल हो। सन् २००६ मा मिचेल लुइसले दक्षिण अफ्रीका बिरुद्ध १० ओभरमा ११३ रन खर्चिएका थिए। वाहब रियाजले १० ओभरमा इंग्ल्याण्ड बिरुद्ध २०१६ मा पनि १० ओभरमा ११० रन खर्चिएका थिए।
सर्वाधिक छक्काको रेकर्ड
इंग्ल्याण्डको इनिंगमा कुल २५ छक्का प्रहार भएको थियो। एकै इनिंगमा कुनै पनि टिमले प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो। यस अघि इंग्ल्याण्डलेनै वेस्ट इन्डिज बिरुद्ध यसै वर्ष २४ छक्का प्रहार गर्दै रेकर्ड बनाएको थियो।
विश्वकप क्रिकेट इतिहासमा समेत कुनै पनि टिमको यो सर्वाधिक छक्का हो। यस अघि सन् २०१५ विश्वकपमा वेस्ट इन्डिजले जिम्बाबे बिरुद्ध १९ छक्का प्रहार गरेको थियो।
Most sixes in a team innings in ODIs
25 Eng v Afg Manchester 2019 *
24 Eng v WI Grenada 2019
23 WI v Eng Bridgetown 2019
22 NZ v WI Queenstown 2014
22 WI v Eng Grenada 2019
धेरै छक्का हान्ने ब्याट्सम्यान
मोर्गनले १४८ रन बनाउने क्रममा १७ छक्का प्रहार गर्दै एकै इनिंगमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान बनेका छन्। भारतका रोहित शर्माले अस्ट्रेलिया बिरुद्ध २०१३ मा दोहोरो शतक बनाउने क्रममा १६ छक्का प्रहार गरेका थिए। एबि डी भिल्लियर्सले पनि र क्रिस गेलले पनि १६ वटा छक्का २०१५ मा प्रहार गरेका थिए।
इंग्ल्याण्डको लागि भने यस अघि जोस बटलरले यसै वर्ष वेस्ट इन्डिज बिरुद्ध सर्वाधिक १२ छक्का हिर्काएका थिए। यस्तै विश्वकप क्रिकेट इतिहासमा एकै खेलमा सबैभन्दा धेरै छक्का हान्ने किर्तिमान मोर्गनले बनाएका छन्। क्रिस गेलले २०१५ मा जिम्बाबे बिरुद्ध १६ छक्का प्रहार गरेका थिए।
छिटो शतक
मोर्गनले ५७ बलमा शतक बनाएका थिए जुन विश्वकप इतिहासकै चौथो छिटो शतक हो। केभिन ओ ब्रायनले सन् २०११ मा इंग्ल्याण्ड बिरुद्ध ५० बलमा शतक बनाएका थिए।
ठुलो साझेदारी
मोर्गन र रुटले गरेको १८९ रनको साझेदारी इंग्ल्याण्डको लागि विश्वकपमा कुनै पनि विकेटको रुपमा सबैभन्दा ठुलो साझेदारी हो। सन् १९७५ मा क फ्लेचार र डी एमिसले भारत बिरुद्ध १७६ रनको साझेदारी गरेका थिए जुन रेकर्ड बल्ल टुटेको हो। सन् २०१५ विश्वकपमा मोइन अलि र इयान बेलले १७२ रनको साझेदारी स्कटल्याण्ड बिरुद्ध गरेका थिए।
विश्वकपमा इंग्ल्याण्डको सबैभन्दा ठुलो योगफल
विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यसै विश्वकपमा उसले बंगलादेश बिरुद्ध ३८६ रन बनाएको थियो।
अफगानिस्तान बिरुद्ध सन् २०१५ विश्वकपमा अस्ट्रेलियाले ४१७ रन बनाएर सबैभन्दा ठुलो विश्वकपको योगफल बनाएको थियो। यस्तै भारतले बर्मुडा बिरुद्ध २००७ मा ४१३ रन, दक्षिण अफ्रीकाले आएरल्याण्ड बिरुद्ध २०१५ मा ४११ रन, दक्षिण अफ्रीकाले वेस्ट इन्डिज बिरुद्ध २०१५ मा ४०८ रन तथा श्रीलंकाले केन्या बिरुद्ध १९९६ मा ३९८ रन बनाएको थियो।