इंग्ल्यान्डलाई झट्का, आर्चर वर्षभरि इंग्ल्यान्ड टिमबाट बाहिर

२०७८ श्रावण २२, शुक्रबार ११:१४

इंग्ल्यान्डका स्टार फास्ट बलर जोफ्रा आर्चर पुरै वर्ष इंग्ल्यान्ड क्रिकेट टिमबाट बाहिर भएका छन्।

आर्चर जारि इंग्ल्यान्ड र भारत बीच टेस्ट सिरिजबाट बाहिर भएका थिए भने यस पछि आईपीएल, टि-ट्वान्टी विश्वकप, एसेज सिरिजको समेत अब उनि टिमको हिस्सा हुने छैनन्। इंग्ल्यान्ड क्रिकेट बोर्डले आर्चरको इन्जुरी बारे सूचना दिंदै उनि यो वर्ष इंग्ल्यान्डले खेल्ने कुनै पनि सिरिजको हिस्सा नहुने पुस्टि गरेको हो।


“पछिल्लो साता जोफ्रा आर्चरको दायाँ हातको कुइनोको स्क्यान गरिएको थियो जसमा स्ट्रेस फ्र्याक्चर देखिएको छ।” इंग्ल्यान्ड क्रिकेट बोर्डले बताएको छ। आर्चर यो वर्ष भारतमा भएको आईपीएलको पहिलो फेजबाट बाहिर भएका थिए जसपछि मे महिनामा उनको कुइनोको अपरेसन भएको थियो। पछिल्लो महिना उनले काउन्टी क्रिकेटमा पुनरागमन गरेका थिए जुन क्रममा उनले आफुलाई अनफिट महसुस गर्दै खेल बीचमा छोडेका थिए। मे मा भएका अपरेसन र अहिले भएको स्ट्रेस फ्र्याक्चर दुई अलग इन्जुरी हो। यसै कारण आर्चरले ब्रेक लिनु परेको हो।

यो वर्ष इंग्ल्यान्डको जर्सीमा नदेखिने भएपछि आर्चरले ट्वीटर पोस्टमा ” सबै कुरा एक कारणको लागि हुन्छ” लेखेका छन्।


आर्चर मैदानबाट बाहिर हुनु इंग्ल्यान्डको लागि ठूलो झट्का बनेको छ। २०१९ मा डेब्यु गरेपछि आर्चर आफ्नो ९० माइल्स/किमीको पेस, योर्कर र बाउन्सरबाट विश्वभरका ब्याट्सम्यानहरुलाई समस्या बन्दै आएका थिए। उनले इंग्ल्यान्डको लागि १३ टेस्टमा ४२ विकेट, १७ एकदिवसीयमा ३० विकेट तथा १३ टि-२० मा १७ विकेट लिएका छन्। इंग्ल्यान्डले २०१९ एकदिवसीय विश्वकप जित्दा समेत आर्चर टिमको महत्वपूर्ण सदस्य रहेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy