पाकिस्तान विरुद्ध जुलाई ८ तारिख देखि तिन वटा एकदिवसीय र तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु हुनु अघि इंग्ल्यान्ड क्रिकेट टिमसंग जोडिएका ७ जनालाई कोभिड-१९ पोजेटिभ देखिएको छ।
एकदिवसीय सिरिज सुरु हुनु दुई दिन अघि तिन जना खेलाडीहरु र चार जना टिम व्यवस्थापनसंग जोडिएका सदस्यहरुलाई कोभिड-१९ देखिएको हो। इंग्ल्यान्ड क्रिकेट बोर्डले पोजेटिभ देखिएका सात जनालाई टिमबाट अलग गर्दै आइसोलेसनमा राखेको छ।
सात जनालाई पोजेटिभ देखिएता पनि सिरिजमा भने असर पर्ने छैन र निर्धारित तालिकामा अगाडी बढ्नेछ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले बेन स्टोक्सलाई सिरिजको कप्तानी सुम्पेको छ जसको मतलब नियमित कप्तान ओएन मोर्गनलाई कोभिड पोजेटिभ देखिएको छ। स्टोक्स आईपीएलमा औलाको चोट देखिएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न लागेका हुन्। उनले पहिलो पटक इंग्ल्यान्डको एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्नेछन्।
सिरिज अगाडीनै इंग्ल्यान्डले १६ सदस्यीय टोलिको घोषणा गरेको थियो। तर कोभिड केसहरु देखिएपछि इंग्ल्यान्ड बोर्डले यस अघि घोषित टिममा परिवर्तन गर्दै १८ सदस्यीय टोलिको घोषणा गरेको छ जसमध्ये ९ जना खेलाडीहरुले यस अघि इंग्ल्यान्डको लागि डेब्यु गरेका छैनन्।
“प्रभावित खेलाडीहरु जुलाई ४ देखि सेल्फ आइसोलेसनमा बसीरहेका छन् जसले क्वारेन्टाइनमा इंग्ल्यान्ड सरकारको प्रोटोकल पछ्याइरहेका छन्। उनीहरुसंग नजिकको सम्पर्कमा रहेका अन्य सदस्यहरुले पनि आइसोलेसनमा बसीरहेका छन्।” इंग्ल्यान्ड बोर्डले जारि गरेको बिज्ञप्तिमा बताईएको छ।
इंग्ल्यान्ड बोर्डले आइसोलेसनमा बसीरहेका खेलाडीहरु जुलाई १६ तारिख देखि सुरु हुने टि-२० सिरिजको लागि उपलब्ध हुने विश्वास लिएको छ।
इंग्ल्यान्ड टिम : बेन स्टोक्स, जेक बल, ड्यानी ब्रिग्स, ब्राइडन कारसे, ज्याक क्रलि, बेन डकेट, लुईस ग्रेगरी, टम हेल्म, विल ज्याक्स, ड्यानीयल लरेन्स, साकीब महमूद, डेविड मलान, क्रेग ओभरटन, म्याट पार्किन्सन, डेभिड पेन, फिल साल्ट, जोन सिम्पसन , जेम्स भिन्स
