एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । पाँच खेलको ओडिआईका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।
यस खेलमा जित हात पार्दै अस्ट्रेलियाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
इङ्ग्ल्यान्डको लिड्समा पाहुना टोलीले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो ।
घरेलु टोलीका लागि जेमि स्मिथले ६१ बलमा ४९, बेन डुकेटले ३२, आदिल राशिदले २७ तथा ज्याकोब बेथहेलले २५ रन बनाए । पाहुना टोलीका लागि मिचेल स्टार्कले ३ तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको पाहुना टोलीले ४४.४ ओभरमा अल आउट हुदै २ सय ७० रन जाडेको थियो । पाहुना टोलीका लागि विकेटकिपर एलेक्स क्यारीले ६७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७४ रन जोडेका थिए ।
कप्तान मिचेल मार्शले ५९ बलमा ६०, ओपनरद्वय म्याथ्यु शर्ट र ट्राभिस हेडले समान २९, आरोन हार्डिले २३ तथा ग्लेन म्याक्सवेलले ७ रन जोडेका थिए । घरेलु टोलीका लागि ब्रायडन कार्सले ३ तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान २ विकेट लिए ।
गतवर्ष भएको ओडिआई विश्वकपको समूह चरणमा भारतसँग पराजित भएपछि अस्ट्रेलियाको यो लगातार १४औं जित हो । दुई टोलीबीचको तेस्रो ओडिआई खेल मंगलवार रहेको छ ।
