पहिलो इनिंग्समा ९५ रनको अग्रताले भारतको हात माथि

२०७८ श्रावण २२, शुक्रबार २३:१६

भारत र इंग्ल्यान्ड बीच पाँच खेलको टेस्ट सिरिज अन्तर्गत ट्रेन्ट ब्रिज स्टेडियम नटिंघममा जारि पहिलो टेस्टको तेश्रो दिनको खेल समाप्त भएको छ। वर्षाका कारण तेश्रो दिन करिब ४९ ओभरको खेल मात्र सम्भव भयो।

टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १८३ रन बनाएपछि भारतले पहिलो इनिंग्समा २७८ रन बनाउदै ९५ रनको अग्रता हाँसिल गरेको थियो। तेश्रो दिन आफ्नो दोश्रो इनिंग्स ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले दिनको समाप्तिमा विकेट नगुमाई ११.१ ओभरमा २५ रन बनाएको छ। दोश्रो इनिंग्समा इंग्ल्यान्ड ७० रन अझै पछाडी रहेको छ। क्रिजमा डोमिनिक सिबले ९ रन तथा रोरी बर्न्स ११ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

भारतको पहिलो इनिंग्स : यस अघि तेश्रो दिनको सुरुवात १२५/४ को अवस्थाबाट गरेको भारतले सम्पूर्ण विकेट गुमाउदा २७८ रन बनाउन सक्यो। भारतको लागि ओपनर केएल राहुलले सर्वाधिक ८४ रन तथा रभीन्द्र जडेजाले ५६ रन बनाए। रोहित शर्माले ३६, जस्प्रित बुम्राहले २८, रिशभ पन्तले २५ तथा मोहम्मद शामीले १३ रन योगदान दिए। १४५ रनमा ५ विकेट गुमाएको अवस्थामा राहुल र जडेजाले ६० रनको साझेदारी गर्दै भारतलाई अग्रता दिलाएका थिए। त्यसपछि तल्लो क्रममा दशौँ विकेटको लागि बुम्राह र मोहम्मद सिराजले ३३ रनको साझेदारी गर्दै अग्रता बढाए।


इंग्ल्यान्डको बलिंगमा ओली रोबिन्सनले करियरमै पहिलो पटक ५ विकेट लिंदा २६.५ ओभरमा ६ मेडन ओभर गर्दै ८५ रन खर्चंदै ५ विकेट लिए। यस्तै जेम्स एण्डरसनले ४ विकेट ( २३-८-५४-४ ) विकेट लिए। एण्डरसन अनिल कुम्बलेलाई उछिन्दै टेस्टमा तेश्रो सर्वाधिक विकेटकर्ता समेत बन्न पुगेका छन्।

टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन बनाएको थियो। उसको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाएका थिए। भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट, मोहम्माद शामीले ३ विकेट, शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy