चलेन पाकिस्तानको ब्याटिंग, इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

२०७८ श्रावण ३, आईतवार २२:४९

इंग्ल्यान्ड स्पिनरहरु हावी भएपछि पाकिस्तानलाई ४५ रनले सहजै पराजित गर्दै इंग्ल्यान्डले दोश्रो खेल जित्दै तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा ल्याएको छ।

लिड्स, हेडिंगलेमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १५५ रन मात्र बनाउन सक्यो।

पाकिस्तानको लागि मोहम्मद रिजवानले सर्वाधिक ३७ रन, शदाव खानले अविजित ३६ रन, बाबर आजमले २२ रन तथा इमाद वासिमले २० रन योगदान दिए।

ओपनर बाबर आजम र मोहम्मद रिजवानले ५० रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। छैठौं ओभरमा आजमलाई सकिब मोहम्मदले क्याच आउट गराएपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो। आदील रशिदले नवौं र ११ औं ओभरमा सोहेब मक्सुद र मोहम्मद रिजवानलाई पेभेलियन फर्काए। १३ औं ओभरमा मोईन अलिले मोहम्मद हफिज र फखर जमानको विकेट लिंदै इंग्ल्यान्डलाई हावी बनाए। १४ औं ओभरमा आजम खानलाई म्याथु पार्किन्सनले आउट गरे।

सातौँ विकेटको लागि इमाद वासिम र शदाब खानले ३७ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहन सकेन।

इंग्ल्यान्डको बलिंगमा सकिब महमुदले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) लिए भने आदील रशिद ( ४-०-३०-२ ) र मोईन अलिले ( ३-०-३२-२ ) समान २ विकेट तथा टम करन ( ४-०-२२-१ ) र म्याथु पार्किन्सनले समान १ विकेट  (४-०-२५-१ ) लिए।

बटलरले अर्धशतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०० रन बनाएको थियो।

इंग्ल्यान्डको ब्याटिंगमा ओपनर तथा कप्तानी गरिरहेका जोस बटलरले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे। लियाम लिभिंगस्टोनले ३८ तथा मोईन अलिले ३६ रन बनाए। क्रिस जोर्डनले १४ तथा जोने बेयरस्टोले १३ रन योगदान दिए।

इमाद वासिमले जेसन रोय र डेविड मलानलाई सुरुवातमै पेभेलियन फर्काएपछि तेश्रो विकेटको लागि बटलरले मोईन अलिसंग ६७ रनको साझेदारी गरे। अलिको विकेटपछि बटलर र लिभिंगस्टोन बीच ५२ रनको साझेदारी भयो। इनिंग्सको अन्तिम ५ ओभरमा इंग्ल्यान्डले ५ विकेट गुमाउदा योगफलमा ४७ रन जोड्न सक्यो।

पाकिस्तानको बलिंगमा मोहम्मद हसनैनले सर्वाधिक ३ विकेट ( ४-०-५१-३ ) लिंदा इमाद वासिमले २ तथा शाहिन अफ्रिदी र शदाब खानले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ३१ रनले जितेको थियो। सिरिज अन्तर्गत निर्णायक खेल जुलाई २० तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy