दोश्रो खेलमा पाकिस्तानलाई ५२ रनले पराजित गर्दै घरेलु टोलि इंग्ल्यान्डले पाकिस्तान बिरुद्ध तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-० ले जितेको छ।
लर्ड्स मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात खराब रह्यो र पहिलो ४ विकेट ५३ रनको योगफलमा गुम्न पुग्यो। इमाम उल हक १ रन, बाबर आजम १९ रन, फखार जमान १० रन तथा मोहम्मद रिजवान ५ रन बनाएर आउट भए।
त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका साउद शकिलले एक किनार सम्हालेता पनि पाकिस्तानको मध्यक्रम पेभेलियन फर्किने शिलशिला रोकिएन। सोहेब मक्सुद १९ रन, शदाब खान २१ रन तथा फहीम अशरफ १ रन बनाएर आउट भए। हसन अलिले १७ बलमा २ चौका र ३ छक्का मद्दतले ३१ रन बनाएता पनि उनि लामो समय जम्न सकेनन्।
करियरको पहिलो अर्धशतक पुरा गरेपाची शकिल ४० औं ओभरमा म्याथु पार्किन्सनबाट क्याच आउट भए जसअघि उनले ७७ बलमा ४ चौका मद्दतले ५६ रन बनाए। शाहिन अफ्रिदीले अविजित ३१ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।
इंग्ल्यान्डको बलिंगमा लुइस ग्रेगरीले सर्वाधिक ३ विकेट ( ८-०-४४-३ ) तथा सकिब महमुद ( ८-०-२१-२ ) , क्रेग ओभरटन ( ९-२-३९-२ ) र म्याथु पर्किन्सनले ( ८-०-४२-२ ) ले समान २ विकेट लिए। ब्रेडन कार्सले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले ४५.२ ओभरमा २४७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।
डेविड मलान र ज्याक क्रले खाता नखोली आउट भएपछि तेश्रो विकेटको लागि फिलिप साल्ट र जेम्स भिन्सले तेश्रो विकेटको लागि ९७ रन जोडेका थिए। ५४ बलमा १० चौका मद्दतले ६० रन बनाएका साल्टलाई १८ औं ओभरमा साउद शकिलले बोल्ड गरे। त्यसपछि २१ औं ओभरमा भिसलाई शदाब खानले बोल्ड गरे जस अघि उनले ५२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए।
साल्ट र भिन्सको विकेटपछि कप्तान बेन स्टोक्स २२ रन, जोन सिम्पसन १७ र तथा क्रेग ओभरटन खाता नखोली आउट भए। फलस्वरुप इंग्ल्यान्ड १६०/७ को अवस्थामा पुग्यो।

आठौँ विकेटको लागि लुइस ग्रेगरीले ब्रेडन कार्ससंग ६९ रनको साझेदारी गर्दै इनिंग्स उकासे। ग्रेगोरीले ४० रन तथा कार्सले ३१ रन बनाए जसपछि दुवैलाई हरिस रौफले पेभेलियन फर्काए।
पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर हसन अलिले ५ विकेट लिए जुन क्रममा ९.२ ओभरमा ५१ रन खर्चे। हरिस रौफले २ तथा शाहिन अफ्रिदी, शदाब खान र साउद शकिलले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले ९ विकेटले जितेको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिक खेल जुलाई १३ तारिखमा एजब्यास्टनमा खेलिनेछ।
