काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा स्कटल्यान्ड र इंग्ल्यान्डबीच खेल हुदैछ ।
नवौं संस्करणको विश्वकपको छैठौं खेलमा समूह बी मा रहेका स्कटल्यान्ड र इंग्ल्यान्डबीच खेल नेपाली समय अनुसार मंगलबार बेलुका सवा ८ मा वेस्ट इन्डिजको बारबाडोसमा हुदैछ ।
दुई पटकको च्याम्पियन इंग्ल्यान्ड सन् २००७ बाट नै विश्वकपमा लगातार सहभागी हुदै आएको छ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड यस संस्करणको पनि प्रमुख दाबेदार रहेकोले पहिलो खेलबाटै जितको लयलाई अगाडी बढाउन चाहन्छ ।
यता, छैठौं पटक विश्वकप खेल्दै गरेको स्कटल्यान्ड युरोप महादेशको क्षेत्रिय छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो ।
नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डका अलावा नामिबिया, ओमान, अस्ट्रेलिया तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।
समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।