मलिंगा चम्किदा श्रीलंकासंग उपाधि दावेदार इंग्ल्याण्ड स्तब्ध

आईसीसी एकदिवसीय विश्वकपमा उपाधि दावेदार मानिएको घरेलु टिम इंग्ल्याण्डलाई श्रीलंकाले २० रनले पराजित गर्दै स्तब्ध पारेको छ।

हेडिंगलेमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्ड ४७ ओभरमा २१२ रनमा अलआउट हुन पुगेको हो।

प्रतियोगितामा श्रीलंकाको यो छैठौं खेलमा मात्र दोश्रो जित हो। उसले २ खेलमा हार बेहोर्दा २ खेल भने नतिजाविहिन रहेको थियो। अफगानिस्तानलाई यस अघि पराजित गरेको श्रीलंका ६ अंक सहित अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। इंग्ल्याण्ड भने हार पछि पनि ६ खेलमा ४ जित र २ हार सहित ८ अंक बटुल्दै तेश्रो स्थानमा यथावत रहेको छ। अस्ट्रेलिया पहिलो, न्युजिल्यान्ड दोश्रो र भारत चौथो स्थानमा छ।

लक्ष्य पछ्याउन क्रममा खराब सुरुवात गरेको घरेलु टिमका ओपनर जेम्स भिन्स १४ तथा जोंन्नी बेयरस्टो खान्त नखोली आउट भए। दुवैलाई लासिथ मलिंगाले आउट गरे।

तेश्रो विकेटको लागि कप्तान ओएन मोर्गन र जोए रुटले ४७ रनको साझेदारी गरे। २१ रन बनाएका मोर्गनलाइ इसुरु उडानाले आउट गरे। चौथो विकेटको लागि रुटले बेन स्टोक्ससंग ५४ रनको साझेदारी गरे। रुटलाई ३१ औं ओभरमा मलिंगाले क्क्याच आउट गराउदै श्रीलंकालाई खेलमा फर्काए। लगत्तै १० रन बनाएर जोस बटलर पनि मलिंगाको एलबिडब्लु शिकार हुँदा श्रीलंका खेलमा हावी भयो।

तल्लो क्रममा मोइन अलि १६, क्रिस वोक्स २, आदील रशिद १ तथा जोफ्रा आर्चर ३ रन बनाएर लगातार आउट भए। अलि , वोक्स र रशिदलाई धनन्जय डी सिल्भाले आउट गरे।

लगातार अर्को किनारमा विकेट गुमे पनि बेन स्टोक्सले एक किनार सम्हालीरहे र जितको आशा दिलाई रहे। १८६/९ पुगेको इंग्ल्याण्डलाई स्टोक्ले उडानाको ४६ औं ओभरमा २ छक्का प्रहार गर्दै अघि बढाए। ४७ औं ओभरमा नुवान प्रदिपलाई पनि २ चौका प्रहार गरेका स्टोक्सले खेल जिताउने खतरा बढीरहंदा सोहि ओभरको अन्तिम बलमा प्रदिपले मार्क वुडलाई क्याच आउट गर्दै श्रीलंकालाई जित दिलाए।

उत्कृस्ट इनिंग खेले पनि स्टोक्सले टिमलाई जित भने दिलाउन सकेनन्। उनले अविजित ८२ रन बनाउने क्रममा ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

श्रीलंकाको बलिंगमा लासिथ मालिंगाले सर्वाधिक ४ विकेट ( १०-१-४३-४ ) लिए। यस्तै धनन्जय डी सिल्भाले ३ विकेट ( ८-०-३२-३ ) तथा इसुरु उडानाले २ विकेट ( ८-०-४१-२ ) लिए।

मालिंगा एकदिवसीय विश्वकपमा ५० विकेट पुरा गर्ने चौथो बलर पनि बनेका छन्। यस्तै विश्वकपमा धेरै विकेट लिने सुचीमा आफ्नै देशका चामिन्दा भासलाई उछिन्दै उनि ५१ विकेट सहित चौथो स्थानमा समेत उक्लेका छन्। भासले ४९ विकेट लिएका थिए। यो सुचीमा ७१ विकेट लिएका अस्ट्रेलियाका तिब्र गति बलर ग्लेन म्याकग्राथ पहिलो, श्रीलंकाकै स्पिनर मुथैया मुरलीधरन ६८ विकेट सहित दोश्रो र ५५ विकेटका साथ पाकिस्तानका वासिम आक्रम तेश्रो स्थानमा रहेका छन्।

म्याथुजको धैर्यता 

यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनाएको थियो।

श्रीलंकाको लागि एन्जेलो म्याथुजले अविजित ८५ रन बनाए जुन क्रममा धैर्यतापुर्वक ११५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अभिस्का फर्नान्डोले ४९ ( ३९ बलमा ६ चौका र २ छक्का ) र कुशल मेन्डिसले ४६ ( ६८ बलमा २ चौका ) रन बनाए।

ओपनर डिमुथ करुनारत्ने १ र कुशल परेरा २ रन मात्रै बनाएर आउट भएपछि तेश्रो विकेटको लागि फर्नान्डो र मेन्डिसले ५९ रनको तथा चौथो विकेटको लागि मेन्डिस र म्याथुजले ७१ रनको साझेदारी गरे। म्यथुजले छैठौं विकेटको लागि धनन्जय डी सिल्भासंग ५७ रनको साझेदारी गरे।

इंग्ल्याण्डको बलिंगमा जोफ्रा आर्चर ( १०-२-५२-३ ) र मार्क वुडले ( ८-०-४०-३ ) ले ३/३ विकेट तथा आदील रशिद ( १०-०-४५-२ ) ले २ विकेट लिए। क्रिस वोक्सले १ विकेट ( ५-०-२२-१ ) लिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy