डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले टि-२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ। समुह ‘१’ अन्तर्गतनै आजै सम्पन्न पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्यो।
युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा वेस्टइन्डिजले दिएको ५६ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट क्षेतीमा ८.२ ओभरमै पुरा गर्यो। ७० बल बाँकी रहँदै इंग्ल्यान्डको जित उसको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै बल बाँकी रहेको आधारमा सबैभन्दा ठूलो जित हो। यस अघि इंग्ल्यान्डको बल बाँकी रहेको आधारमा विशाल जित वेस्टइन्डिज बिरुद्धनै थियो। २०१९ मा वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य उसले ५७ बल बाँकी रहंदा भेटाएको थियो जुन रेकर्ड आज तोडिएको हो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको लागि ओपनर जोस बटलरले सर्वाधिक २४ रन बनाए जुन क्रममा अविजित रहँदै २२ बलमा ३ चौका प्रहार गरे। जेसन रोयले ११, जोनी बेयर स्टोले ९ तथा कप्तान ओएन मोर्गनले अविजित ७ रन बनाए। वेस्टइन्डिजको बलिंगमा अकेल होसेनले २ विकेट ( ४-०-२४-२ ) तथा रभी रामपौलले १ विकेट ( २-०-१४-१ ) लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिज १४.२ ओभरमा ५५ रनमै समेटियो। यो योगफल वेस्टइन्डिजको टि-२० विश्वकप इतिहासकै सबैभन्दा कम योगफल हो भने समग्रमा टि-२० विश्वकप इतिहासकै तेश्रो कम योगफल हो। यस्तै वेस्टइन्डिजको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासको यो दोश्रो कम योगफल हो। वेस्टइन्डिजले सबैभन्दा कम २०१९ मा इंग्ल्यान्ड बिरुद्धनै वेस्टइन्डिजले ४५ रन बनाएको थियो। टि-२० विश्वकपमा यो भन्दा थोरै नेदरल्याण्डले २०१४ मा ३९ तथा जारी विश्वकपमा श्रीलंका बिरुद्ध ४४ रन बनाएको थियो।
वेस्टइन्डिजको लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। गेल र हेटमार बीच तेश्रो विकेटको १८ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।
इंग्ल्यान्डको बलिंगमा आदील रशिदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २.२ ओभरमा मात्र २ रन खर्चिए। यस्तै टाईमल मिल्स ( ४-०-१७-२ ) र मोईन अलिले ( ४-१-१७-२ ) समान दुई विकेट तथा क्रिस वोक्स ( २-०-१२-१ ) र क्रिस जोर्डनले ( २-०-७-१ ) समान एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डले दोश्रो खेल अक्टोबर २७ तारिखमा बंगलादेशसंग तथा वेस्टइन्डिजले अक्टोबर २६ तारिखमा दक्षिण अफ्रीका बिरुद्ध खेल्ने तालिका रहेको छ। आइतबार श्रीलंका र बंगलादेश तथा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ।
