श्रीलंका बिरुद्धको टेस्ट शृंखला इंग्ल्याण्डको पोल्टामा

२०७५ मंसिर २, आईतवार १२:०३

कप्तान जो रुटको तेस्रो इनिंगमा शतक र स्पिनर ज्याक लिचको ८ विकेटको बलमा भ्रमणकारी टोलि इंग्ल्याण्डले १८ बर्षपछि श्रीलंकन भुमिमा टेस्ट शृंखलामा जित हात पारेको छ। श्रीलंका भ्रमण अन्तर्गतको दोस्रो टेस्टमा ५७ रनको जित दर्ता गर्दै एक खेल अगावै इंग्ल्याण्डले शृंखला कब्जा गरेको हो।

यसअघि इंग्ल्याण्डले श्रीलंकालाई सन् २००१ मा उसकै घरमा पराजित गरेको थियो। श्रीलंका बिरुद्धको सिरिज जित इंग्ल्याण्डको २०१२/१३ पछि एसियामा पहिलो टेस्ट सिरिज जित समेत हो। सन् २०१२/१३मा इंग्ल्याण्डले भारत बिरुद्ध भारतमा टेस्ट श्रंखला जितेको थियो।

ज्याक लिचले सर्वाधिक ५ विकेट लिए
ज्याक लिचले सर्वाधिक ५ विकेट लिए

पालेकेले मैदानमा दोस्रो टेस्टको अन्तिम दिन जितका लागि ७५ रन बाँकी रहंदा ब्याटिंग सुरु गरेको श्रीलंकाले थप १७ रन जोड्दा अल आउट हुनपुग्यो। ३०१ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोलि २४३ रनमा समेटिएपछि इंग्ल्याण्डले ५७ रनको जित हात पारेको हो।

श्रीलंकाको चौथो इनिंगमा एन्जेलो म्याथुजले ८८ तथा दिमुथ करुनारत्नेले ५७ रन बनाएपनि त्यो जितका लागि पर्याप्त रहन सकेन।

मोइन अलिले ४ विकेट लिए
मोइन अलिले ४ विकेट लिए

इंग्ल्याण्डका लागि बायाँ हाते स्पिनर ज्याक लिचले सर्वाधिक ५ विकेट (२८-२-८३-५) हात पारे। खेलको पहिलो इनिंगमा समेत लिचले ३ विकेट (२९-५-७०-३) चट्काएका थिए।

यस्तै अर्का स्पिनर मोइन अलिको नाममा ४ विकेट (१९-२-७२-४) रहंदा लेग स्पिनर आदील रशिदले १ विकेट हात पारे।

यस अघि तेश्रो दिन सकिंदा इंग्ल्याण्ड ९ विकेट गुमाएर ३२४ रन बनाएको थियो जसपछि २२ रन थप बनाएर पुरा विकेट गुमाउन पुग्यो र ३०० रनको अग्रता लिन सक्यो। उसका लागि कप्तान रुटले सर्वाधिक १२४ रन तथा बेन फोक्सले अविजित ६५ रन जोडेका थिए।

तेस्रो इनिंगमा जो रुटले शतक बनाए
तेस्रो इनिंगमा जो रुटले शतक बनाए

यस अघि टेस्टको पहिलो दिन टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ७५.४ ओभर ब्याटिंग गर्दै २८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।इंग्ल्याण्डको लागि स्याम कुरानले सर्वाधिक ६४ ( ११९ बल १ चौका र ६ छक्का ) तथा जोस बटलरले ६३ रन ( ६७ बल, ७ चौका ) योगदान दिएका थिए। श्रीलंकन स्पिनर दिलरुवान परेराले ४ विकेट लिएका थिए।

श्रीलंकाको पहिलो इनिंगमा रोशेन सिल्भाले ८५ , दिमुथ करुनारत्नेले ६३ तथा धनन्जय डी सिल्भाले ५९ रन योगदान दिएपछि ३३६ रन बनाएको थियो। भ्रमण टोलिको लागि ज्याक लिच र आदील राशिदले समान ३/३ विकेट लिएका थिए।

फोटोहरु : (@ICC)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy