इङ्गल्याण्डमा जारि एकदिवसीय विश्वकपको बाह्रौं संस्करण अन्तर्गत आजको खेलमा पाकिस्तानले इङ्गल्याण्डको सामना गर्दैछ।
आयोजक इङ्गल्याण्डलाई जारि विश्वकपमा सबैभन्दा उत्कृस्ट टिमको रुपमा हेरिएको छ। उद्घाटन खेलमा पहिले ब्याटिंग गर्दै ३०० भन्दा माथिको योगफल बनाएको घरेलु टिमले किफायती बलिंग र उत्कृस्ट फिल्डिंग देखाउंदै दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
केंनिंगटन ओभलमा भएको खेलमा सुरुवातमा तथा मध्यक्रममा समेत नियमित विकेट गुमाएको आयोजकले दबाब बिनाको खेल पस्कदै दक्षिण अफ्रिकासँग ३११ रन बनाएको थियो। यसले पनि प्रस्ट पार्छ इङ्गल्याण्डको ब्याटिंग कति बलियो रहेको छ भनेर। उसका ओपनर जोन्नी बेयारिस्टो डक आउट भएपनि उनको र जेसन रोयको प्रदर्शन पछिल्लो २ बर्षमा बेजोड रहेको छ। रोयले अघिल्लो खेलमा ५३ बलमा ५४ रनको पारि खेलेका थिए।
त्यसपछि तेस्रो नम्बरमा जोए रुटले ब्याटिंग गर्दै टिमलाई सम्हाल्ने जिम्मेवारी पाएका छन्। उनलाई विस्फोटक ब्याटिंग गर्न नभएर उनको साथमा अन्य ब्याट्सम्यानलाई आक्रमण गर्ने जिम्मेवारी दिइएको छ। उनको स्ट्राइक रेट थोरै भएपनि अन्य ब्याट्सम्यानले खुलेर खेल्न सक्छन्। त्यसपछि कप्तान ओएन मोर्गन, बेन स्टोक्स, जोस बटलर र मोईन अलिको उपस्थितिले टिमलाई बलियो बनाएको छ।
अघिल्लो खेलमा कप्तान मोर्गानले ५७ रन, बटलर १८ रन, अलिले ३ रन बनाउँदा बेन स्टोक्सले खेल जिताउन महत्त्वपूर्ण प्रदर्शन गरेका थिए। उनले ब्याटिंगमा ७९ बलमा ९ चौका सहित ८९ रन, २ विकेट र एउटा महत्त्वपूर्ण क्याच लिएका थिए।
त्यस्तै बलिंगतर्फ जोफ्रा आर्चरको उपस्थितिले टिम अझ बलियो देखिएको छ। उनको गति सँगैको बाउन्सर बलमा सम्हाल्लिन नसक्दा दक्षिण अफ्रिका १० ओभर अगावै २०७ रनमा समेटिएको थियो। आर्चरले २७ रन दिएर ३ विकेट लिएका थिए। साथमा लियाम प्लंकेट, क्रिस वक्स र बेन स्टोक्सको फास्ट बलिंगको साथमा मोइन अलि र आदील रशिदको स्पिनले बलिंगमा समेत इङ्गल्याण्डसंग उत्कृस्ट गर्ने क्षमता छ।
अर्कोतर्फ पाकिस्तानको अवस्था भने बिपरित रहेको छ। प्रतियोगिता अघि पाकिस्तानलाई इङ्गल्याण्डमा राम्रो प्रदर्शन गर्ने आकलन गरिएको थियो। वेस्ट इन्डिजको फास्ट बलिंगको सामना गर्न नसक्दा पाकिस्तान सन् १९९२ पछीको सबैभन्दा थोरै योगफलमा समेटियो। उसले २१.४ ओभरमा १०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
पाकिस्तानको लागि सुरुवाती ३ ब्याट्सम्यान इमाम उल हक, फकर जमान र बाबर अजामको प्रदर्शन एकदमै जरुरि छ। पछिल्लो १४ एकदिवसीय खेलमध्ये १३ मा पराजित भएपनि सुरुवाती ३ ब्याट्सम्यानको सन् २०१८/१९ मा औसत ५० भन्दा माथि नै रहेको छ। तर उनिहरु वेस्ट इन्डिजसँग चल्न सकेनन्।
उसले टिममा सबैभन्दा राम्रो हिटिंग क्षमता भएका आफ्ना आक्रामक ब्याट्सम्यान असिफ अलिलाई बेन्चमा राख्दा आलोचना व्यहोर्न पुग्यो। ह्यारिस सोहेल, सरफराज अहमद, मोहम्मद हाफिज लगायतका ब्याट्सम्यान पनि चलेनन्।
पाकिस्तानको लागि अघिल्लो खेलबाट सुखद पक्ष भनेको उसका प्रमुख फास्ट बलर मोहम्मद आमिरले लयमा फर्केको देखाएका छन्। उनले वेस्ट इन्डिज बिरुद्द ६ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका छन्।
विश्वकप अगाडी भएको ५ खेलको एकदिवसीय सिरिजमा समेत यि २ टिमले प्रतिस्पर्धा गरेका थिए। सिरिजमा इंग्ल्याण्डले बिशाल योगफलहरु पछ्याएको थियो भने पाकिस्तानले ३ खेलमा ३४० भन्दा माथिको योगफल बनाउँदा पनि जित निकाल्न सकेको थिएन। सिरिजमा १ खेल बर्षाले प्रभावित हुँदा ४ खेल इंग्ल्याण्डले जितेको थियो।
यदि पाकिस्तानले घरेलु टिमलाई चुनौती प्रस्तुत गर्न चाहन्छ भने उसको ब्याटिंग एकदमै महत्त्वपूर्ण रहनेछ। खेल हुने मैदान ट्रेन्ट ब्रिज ठुला योगफल हुने मैदानहरुमा पर्छ। इंग्ल्याण्डले यहि मैदानमा पाकिस्तानलाई ४८१/६ रनको एकदिवसीय क्रिकेटको सबैभन्दा ठुलो योगफल बनाएको थियो।
खेलहुने मिति र समय: २०७६ जेठ २० गते, ३:१५ बजे दिउसो (नेपाली समय)
खेलहुने मैदान: ट्रेन्ट ब्रिज, नोटिंगम
पाकिस्तानको विश्वकप टिम :- सरफराज अहमद (कप्तान), फखर जमान, इमाम-उल-हक, बाबर आजम, आसिफ अली, शाहीन अफरीदी, हसन अली, वहाव रियाज, मोहम्मद आमिर, शादाब खान, शोएब मलिक, मोहम्मद हस्नैन, मोहम्मद हफीज, इमाद वसीम, हरिस सोहेल
इङ्गल्याण्डको विश्वकप टिम :- ओएन मोर्गन (कप्तान), जेम्स भिन्स, मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, लियम डाउसन, लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, जोफ्रा आर्चर, क्रिस वक्स, मार्क वुड