ईपीएल टि-२० लाई आईसीसीको मान्यता

२०७८ असार २४, बिहीबार १९:५८

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० ( ईपीएल) टि-२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिएको छ।

गत सिजन कोरोना महामारीका कारण सरकारले खेलकुद गतिविधि बन्द गरेपछि स्थगित भएको लिग सेप्टेम्बर २५ देखि अक्टोबर ९ ( असोज ९ देखि २३ गते ) सम्म आयोजना हुनेछ।

२०१९ डिसेम्बरमा सम्पन्न भएको पोखरा प्रिमियर लिग पछि नेपालमा घरेलु फ़्रेन्चाइज् टि-२० लिग आयोजना हुन सकेको छैन। पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले कोरोना महामारी पछि आयोजना मिति घोषणा गरेको छैन।

आईसीसीको मान्यता पाएपछि मात्र लिगमा विदेशी खेलाडीहरु खेल्ने ढोका खुल्ने गर्छ। यस पटक लिगमा विश्व क्रिकेटका ठूला नामहरु सहभागी हुनेछन्। तर आईपीएल २०२१ को दोश्रो फेजको खेलहरु सेप्टेम्बर १७ तारिख देखि युएईमा सुरु हुने हुँदा यस अघि खेल्ने भनिएका एबि डी भिल्लीयर्स र क्रिस गेल जस्ता खेलाडीहरु भने खेल्ने छैनन्। तर आईपीएलको हिस्सा नहुने क्रिकेटरहरु भने लिग खेल्नेछन्।

गत सिजन लिग खेल्न क्रिस गेल सहित कोरे एण्डरसन, पल स्टरलिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद, केसरिक् विलियम्स जस्ता स्टार खेलाडीहरु लिग खेल्ने तय भैसकेको थियो। यो पटक पुनः टिमहरुले खेलाडीहरुसंग नयाँ अनुबन्ध गर्नेछन्। भित्रि रुपमा टोलिहरु चर्चित विदेशी खेलाडीहरु भित्र्याउन लागिसकेका छन् जसको घोषणा केहि समयमै हुनेछ।

ईपीएल २०१८ को उपाधि ललितपुर पेट्रिएट्सले जितेको थियो

ईपिएलको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। लिगको उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो। त्यस अघि २०१७ को उपाधि पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले जितेको थियो।

लिगमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स, चितवन टाइगर्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएतर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स-११ गरि ६ वटा फ़्रेन्चाइज् टोलिहरु सहभागी रहेका छन्।

लिग सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ। समुह चरणमा सबै ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy