नेपाली घरेलु टि-२० लिग एभरेस्ट प्रिमियर लिग टि-२० ( ईपीएल ) को चौथो संस्करणमा विश्वप्रसिद्ध अनुहारहरु देख्न पाइनेछ। यस अघिको संस्करणहरुको तुलनामा यो पटक लिगको टिमहरुले ख्यातिप्राप्त खेलाडीहरुलाई अनुबन्ध गरिरहेको छ। लिगको यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, आयरल्याण्डका केभिन ओ ब्रायन र पल स्टरलिंगले खेलीसकेका छन्। हालसम्म लिग खेल्ने पक्का भएका टेस्ट राष्ट्रका खेलाडीहरुको सूची प्रस्तुत गरेका छौँ –
१. शाहिद अफ्रिदी : विश्वप्रसिद्ध पाकिस्तानी अलराउण्डर अफ्रिदीलाई काठमाडौँ किंग्स-११ ले अनुबन्ध गरेको छ। अफ्रिदी नेपाली घरेलु लिग खेल्ने हालसम्मकै ठूलो खेलाडी हुनेछन्। किंग्स-११ को कप्तान सन्दिप लामिछानेले पहिलो पटक गर्दैछन्। अफ्रिदी ईपीएल खेल्नको लागि पहिलो पटक नेपाल आगमन गर्दैछन्। अफ्रिदीले लिगको सबै खेल खेल्ने या नखेल्ने पक्का भैसकेको छैन। उनि केहि खेल खेलेर फर्कने सम्भावना पनि रहेको छ। किंग्स-११ ले उनको अनुबन्ध रकम सार्वजनिक गरेको छैन तर उनलाई भित्र्याउन टिमले मोटो रकम खर्चेको सहजै अनुमान गर्न सकिन्छ। “नेपालीहरुको आतिथ्य राम्रो रहेको सुनेको छु, सुन्दर देशमा आउन चाहन्छु।” शाहिद अफ्रिदी
२. शोयब मलिक : अर्का पाकिस्तानी स्टार खेलाडी शोयब मलिक पनि यो सिजन ईपीएल खेल्नेछन्। तर हालसम्म उनलाई कुन टिमले लिने टुंगो भएको छैन तर उनि खेल्ने कुरा आयोजकले घोषणा गरिसकेको छ। पोखरा राइनोज या भैरहवा ग्ल्याडीएटर्सबाट उनि खेल्ने सम्भावना रहेको छ। ३९ वर्षीय मलिक १९९९ देखि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिरहेका छन्। हाल टि-२० फर्म्याट मात्र खेल्ने मलिक आक्रामक ब्याटिंग र अफस्पिन बलिंगबाट खेल परिवर्तन गर्ने क्षमता राख्छन्। पाकिस्तानको लागि उनले ३५ टेस्ट, २८७ एकदिवसीय र ११६ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। मलिक टि-२० क्रिकेट इतिहासमै १० हजार भन्दा बढी रन बनाउने विश्वकै मात्र चौथो ब्याट्सम्यान हुन्।
३. कार्लोस ब्राथवेट : वेस्टइन्डिजका स्टार ब्याट्सम्यान कार्लोस ब्राथवेटले पनि ईपीएल खेल्ने पक्का भैसकेको छ। ब्राथवेटको पनि खेल्ने टिम भने टुंगो लागेको छैन। ३३ वर्षीय अलराउण्डरले सन् २०१६ को टि-ट्वान्टी विश्वकपमा वेस्टइन्डिजलाई जित दिलाउन फाइनलमा इंग्ल्यान्ड बिरुद्ध अन्तिम ओभरमा जित्न १९ रन आवस्यक हुँदा बेन स्टोक्सलाई लगातार ४ वटा छक्का प्रहार गर्दै सनसनीपूर्ण जित दिलाएका थिए। त्यसपछि चर्चित बनेका ब्राथवेटले वेस्टइन्डिज टि-२० टिमको कप्तानी समेत गरे। अन्तिम पटक २०१९ अगस्ट मा भारत बिरुद्ध खेलेपछि उनले वेस्टइन्डिज राष्ट्रिय टिमबाट खेलेका छैनन्। वेस्टइन्डिजको लागि उनले ३ टेस्ट, ४४ एकदिवसीय र ४१ वटा टि-२० खेलेका छन्।
४. डानिस अजिज : पाकिस्तानको लागि यसै वर्ष दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय तथा जिम्बाब्वे बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका अजिजलाई चितवन टाइगर्सले अनुबन्ध गरिसकेको छ। लिगमा चितवनको कप्तानी सोमपाल कामिले गर्नेछन्। घरेलु प्रतियोगिताहरुमा उत्कृस्ट प्रदर्शन गरेपछि अजिजले पाकिस्तान राष्ट्रिय टिमको ढोका खोलेका थिए। उनले २८ टि-२० मा ३७.७८ को औशत र १४२.२० को शानदार औशतले ५२९ रन बनाएका छन्। पाकिस्तान सुपर लिगमा कराची किंग्सको प्रतिनिधित्व गर्ने अजिज म्याच फिनिसरको भुमिकामा खेल्ने गर्छन्। २५ वर्षीय अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराज सिंहको जस्तै रहेको छ। पाकिस्तान सुपर लिगमा उनले क्वेटा ग्ल्याडीएटर्स बिरुद्धको खेलमा १३ बलमा ४५ रन बनाउदै आफ्नो परिचय दिएका थिए। विस्तृतमा – पाकिस्तानी क्रिकेटर अजिजले ईपीएल खेल्ने
लिग नजिकिँदै गर्दा ईपीएलका टिमहरु विदेशी खेलाडीहरु अनुबन्ध गर्न प्रयासरत छन्। टि-२० विश्वकप अक्टोबर-नोभेम्बरमा आयोजना हुनाको कारण केहि देशले आफ्नो खेलाडीहरुलाई विदेशी लिगहरु खेल्न दिईरहेको छैन जसले टिमहरुलाई खेलाडी अनुबन्ध गर्न समस्या भैरहेको छ। त्यसैले टोलिहरु टेस्ट राष्ट्रका सन्यास लिईसकेका खेलाडीहरुको खोजिमा छन्। श्रीलंकाको सन्यास लिईसकेका स्टार खेलाडी पनि लिग खेल्ने सम्भावना प्रवल रहेको जानकारी विकेटनेपाललाई प्राप्त भएको छ जसको घोषणा छिट्टै हुनेछ। ईपीएल चल्दै गर्दा आईपीएल पनि चलीरहेको हुने हुँदा यस अघि घोषित गरिएको क्रिस गेल जस्तो ठूलो नाम भने यो पटक ईपीएलमा देखिने छैनन्। टेस्ट राष्ट्र जिम्बाब्वेका खेलाडीहरु पनि आउने सम्भावना रहेको छ भने एसोसिएट राष्ट्रहरुबाट पनि केहि खेलाडीहरु अनुबन्धित हुने पक्का जस्तो छ। लिगमा एउटा टिमले आफ्नो अन्तिम-११ मा तिन जना विदेशी खेलाडी राख्नुपर्ने अनिवार्य रहेको छ।
ईपीएल टि-२० को चौथो संस्करण असोज ९ देखि २३ तारिखसम्म आयोजान हुनेछ जसमा ६ वटा टोलि सहभागी हुनेछन्। लिगको गत सिजन उपाधि ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्सले जितेको थियो। ललितपुर सहित लिगमा बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ सहभागी रहेका छन्।