अमेरिकाको माइनर लिग क्रिकेटमा सहभागिता जनाएपछि राष्ट्रिय क्रिकेट टिमका अनुभवी स्पिनर बसन्त रेग्मी नेपाल फर्कीएका छन्। उनि शनिवार नेपाल पुग्नेछन्।
यस अघि नेपाल आउने मिति तय नभएका कारण एभरेस्ट प्रिमियर लिग( ईपीएल ) को टिम बिराटनगर वारियर्सले अन्तिम टिम सूचीमा रेग्मीको नाम समाबेश गरेको थिएन। आयोजकलाई बुझाएको टिम सूचीमा रेग्मीको नाम थिएन। शनिवार नेपाल आइपुग्ने भएपछि रेग्मी ईपीएल खेल्न तयार छन्।
रेग्मीलाई टिममा समाबेश गर्न बिराटनगर वारियर्सले ईपीएललाई निवेदन पठाइसकेको छ। पारस खड्का नखेल्ने भएपछि उनको स्थानमा वारियर्सले अर्को खेलाडी भित्र्याएको छैन त्यसैले बिराटनगरले उनको स्थानपूर्तिको रुपमा रेग्मीलाई टिममा समाबेश गर्न पाउने बताईएको छ।बिराटनगरले पूर्वकप्तान खड्काको अनुपस्थितिमा टिमको कप्तानी करन केसीलाई सुम्पेको छ जसले ईपीएलमा पहिलो पटक कप्तानी गर्दैछन्। अनुभवी रेग्मीको उपस्थितिले करनलाई ठूलो सहयोग हुनेछ।
अमेरिकाको माइनर लिग क्रिकेटमा हलिवुड मास्टर ब्लास्टर्स टिमको प्रतिनिधित्व गरेका रेग्मीले १३ खेलमा बलिंग गर्ने क्रममा मात्र ६.२५ प्रतिओभर रन खर्चंदै ९ विकेट लिएका थिए।
बिराटनगर वारियर्स ईपीएलमा पहिलो खेल आइतबार ( सेप्टेम्बर २६ ) चितवन टाइगर्स बिरुद्ध खेल्दैछ। पहिलो खेल खेल्ने सम्भावना कम रहेता पनि त्यसपछि सेप्टेम्बर २७ मा काठमाडौँ किंग्स -११ बिरुद्ध खेलमा भने रेग्मी खेल्न सक्नेछन्।
२०१९ मा सिंगापुरमा सम्पन्न टि-२० विश्वकप एसिया रिजन छनोट प्रतियोगिता पछि रेग्मी नेपाली राष्ट्रिय टिमबाट बाहिर हुँदै आएका छन्। प्रशिक्षक उमेश पटवालसंगको सम्बन्ध चिसो रहनु उनि त्यसपछि टिम बाहिर रहनुको कारण मानिएको थियो। यो वर्ष मार्चमा काठमाडौँ मेयर्स कपमा एपीएफको प्रतिनिधत्व गरेपछि रेग्मी अमेरिका प्रस्थान गरेका थिए।
बिराटनगर वारियर्समा कप्तान करन बाहेक नेपाली खेलाडीमा उपकप्तान अनिल शाह, आसिफ शेख, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, प्रतिश जिसी, सन्दिप रजाली, अनुज चुनारा, सन्तोष यादव र सोनु देवकोटा रहेका छन्। यस्तै टिमको विदेशी खेलाडीको रुपमा जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, वेस्टइन्डिजका चन्द्रपौल हेमराज, श्रीलंकाका दिलशान मुनाविरा र क्यानडाका रायन पठान रहेका छन्।
२०१७ ईपीएलको विजेता टिम बिराटनगर वारियर्सको ईपीएलको गत सिजन खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।