EPL : उपाधिको लागि चितवन टाइगर्स र पोखरा राइनोज बीच प्रतिस्पर्धा

२०७८ आश्विन २२, शुक्रबार ११:१७

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टीको ( ईपीएल ) उपाधिको लागि सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन्। खेल शनिवार दिउसो १२:१५ बजे हुनेछ।

लिगको प्लेअफ चरण अन्तर्गत चितवनले पहिलो क्वालीफायरमा पोखरा राइनोजलाई पराजित गर्दै तथा पोखराले दोश्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दै फाइनल पुगेको हो।

चितवन र पोखरा दुवै पहिलो पटक ईपीएलको फाइनल पुगेका हुन् त्यसैले ईपीएलले यो सिजन नयाँ विजेता पाउनेछ। लिगको पहिलो संस्करणको उपाधि शरद भेसावकर कप्तानीको पन्चकन्या तेजले, दोश्रो संस्करणको उपाधि पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले तथा तेश्रो संस्करणको उपाधि ललितपुर पेट्रिएट्सले जितेको थियो। चितवन अघिल्लो संस्करण प्लेअफ पुगेता पनि फाइनल पुग्न असफल थियो भने पोखरा गत सिजन पहिलो चरणबाटै बाहिरिएको थियो।

सोमपाल कामि कप्तानीको चितवनले लिगको पहिलो चरणमा ५ मध्ये ४ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। पोखरा ५ मध्ये ३ खेलमा जित दर्ता गर्दै प्लेअफ पुगेको थियो।

दुई टिम बीच पहिलो क्वालीफायरमा भएको प्रतिस्पर्धामा पोखरा लिग इतिहासकै कम योगफल ६६ रनमा समेटिन पुगेपछि चितवनले खेल सहजै ९ विकेटले जितेको थियो।

चितवनको बलिंग पक्ष प्रतियोगितामा सबैभन्दा बलियो छ। टिममा देब्रे हाते स्पिनर सागर ढकाल १३ विकेट सहित सर्वाधिक विकेटकर्ता हुन् भने पेसर करिम जनत ९ विकेट सहित दोश्रो सर्वाधिक विकेटकर्ता। यस्तै शाहब आलम र कमल सिंह ऐरी समान ८ विकेट लिंदै संयुक्त रुपमा तेश्रो सर्वाधिक विकेटकर्ता हुन्। लिगमा चितवनको प्रतिनिधित्व गरिरहेका अफगानिस्तानका ओपनिंग ब्याट्सम्यान मोहम्मद शहजाद राम्रो लयमा छन् जो ६ खेलमा ३९.२ को औशत र १३२.४३ को स्ट्राइक रेटमा १९६ रन बनाउदै लिगको सर्वाधिक रनकर्ता हुन्। यस्तै टिमको ब्याटिंगमा भिम शार्की ( ६ खेलको ५ इनिंग्समा १३३ रन  ) , राजेश पुलामी ( ६ खेलको ४ इनिंग्समा ८९ रन ) लयमा छन्।

बलियो ब्याटिंग रहेको पोखराका दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभी लयमा छन् जसले ७ खेलमा २५.८३ को औशत र १५०.४८ को स्ट्राइक रेटमा १५५ रन बनाएका छन्। यस्तै अर्का विदेशी खेलाडी सहान अरचिगेले ५ खेलमा ४७.६६ को औशतमा १४३ रन बनाएका छन्। टिमका युवा ब्याट्सम्यान विवेक यादव लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र ७ खेलको ४ इनिंग्समा ब्याटिंग गर्दा ३ पटक नट आउट रहँदै ११२ रन बनाएका छन्। टिमको बलिंगतर्फ युवा पेसर नन्दन यादव ( ७ विकेट ) , बिक्रम सोब ( ६ विकेट ) , सहान अराचिगे ( ४ विकेट ) ले राम्रो प्रदर्शन गरका छन्।

फाइनलमा चितवनको चिन्ता ब्याटिंगको रहेको छ जसले सबै खेल लक्ष्य पछ्याउने क्रममा मात्र जितेको छ त्यसैले अझै पनि चितवनको ब्याटिंगको पूर्ण परिक्षा हुन सकेको छैन। पोखराको भने ब्याटिंग पक्ष बलियो देखिएता पनि बलिंगमा नियमितता र ठूला नामहरु छैनन्।

ईपीएलको विजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy