EPL : पहिलो खेलमै शाहिद अफ्रिदी मैदानमा उत्रिने, हेर्नुस खेलतालिका

२०७८ भाद्र २३, बुधबार १२:१२

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को पहिलो खेलमै नेपाली फ्यानहरुले पाकिस्तानी सुपर स्टार खेलाडी शाहिद अफ्रिदीको खेल हेर्न पाउने भएका छन्।

ईपीएलको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ जसअन्तर्गत पहिलो खेलमा अफ्रिदीले प्रतिनिधित्व गर्ने सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ ले डिफेन्डिङ च्याम्पीयन ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल सेप्टेम्बर २५ तारिख ( असोज ९ गते ) शनिवार १२:१५ बजे दिउसो सुरु हुनेछ। लिगको खेलहरु त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ।

६ टिम सहभागी ईपीएल सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। समुह चरणमा ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ। सेप्टेम्बर २५ तारिखमा ( असोज ९ गते ) सुरु हुने प्रतियोगिताको फाइनल अक्टोबर ९ तारिख ( असोज २३ गते ) शनिवार सकिनेछ। १५ दिन चल्ने लिगमा कुल १९ खेलहरु खेलिनेछन्। लिग चरणमा १५ खेल हुनेछ भने प्लेअफ चरणमा ४ खेल खेलिनेछ।

लिग चरणको उद्घाटन खेलमा एक मात्र खेल हुनेछ भने त्यसपछि सेप्टेम्बर २८ र ३० तारिख बाहेक अन्य दिन एकै दिन दुई खेल खेलिनेछ। दुई खेल हुँदा पहिलो खेल ९:३० बजे बिहान र दोश्रो खेल १:३० बजे दिउँसो सुरु हुनेछ। प्लेअफ चरणको चार खेलहरु सेप्टेम्बर ५ तारिखमा सुरु हुनेछ जुन खेलहरु दिउँसो १२:१५ बजे सुरु हुनेछ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर पेट्रिएट्स , बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। लिगको विजेताले नेपाली क्रिकेटकै सर्वाधिक ५० लाख रुपैयाँ प्राप्त गर्नेछ।

ईपीएलमा हालसम्म टेस्ट रास्ट्रको लागि खेलीसकेका ९ जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। ललितपुर पेट्रिएट्सले अफगानिस्तानका अज्म्तुल्लाह ओमरजाई काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा र धम्मिका प्रशाद , चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ। भैरहवा ग्ल्याडीएटर्सबाट बंगलादेश स्टार तामिम इक्बाल खेल्ने लगभग निश्चित भैसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy