पारस खड्काले ईपीएल नखेल्ने

२०७८ आश्विन ४, सोमबार १८:३८

Paras Khadka

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सेप्टेम्बर २५ तारिख देखि काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) नखेल्ने भएका छन्।

पारस ईपीएलमा बिराटनगर वारियर्स टिममा आवद्ध रहेका थिए जसको नेतृत्वमा टिमले २०१७ सिजनको उपाधि जितेको थियो। गत साउनमा सन्यास घोषणा गर्ने क्रममा पारसले घरेलु क्रिकेट भने खेल्ने संकेत गरेता पनि उनि ईपीएलमा भने देखिनेछैनन्।

पारस नखेल्ने अधिकारिक घोषणा भने बिराटनगरले हालसम्म गरेको छैन। घोषणा नगरेता पनि पारस टिमको अभ्यासमा सामेल छैनन् भने बिराटनगरले आफ्नो सामाजिक सन्जालमा समेत पारस सम्बन्धित कुनै पोस्ट गरेको छैन। उनि यो सिजन खेलाडीको रुपमा टिमसंग आवद्ध नहुने निश्चित भैसकेकोको बिराटनगर टिम श्रोतले विकेटनेपाललाई जानकारी गराएको छ।

पारस अन्तिम पटक यो वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर्स कप पछि मैदानमा उत्रिएका छैनन्। अन्तिम खेलमा पारसले बागमतीको प्रतिनिधित्व गर्ने क्रममा त्रिभुवन आर्मी क्लब बिरुद्ध शतक ( ११९ रन ) बनाएका थिए।

पारसको अनुपस्थितिमा बिराटनगर वारियर्सको कप्तानी राष्ट्रिय क्रिकेट टिमका फास्ट बलिंग अलराउण्डर करन केसीले गर्ने सम्भावना रहेको छ। करनले पहिलो पटक ईपीएलमा कप्तानी गर्नेछन्। उनले धनगढी प्रिमियर लिगको गत सिजन बिराटनगर किंग्सको कप्तानी गरेका थिए। एक-दुई दिन भित्र बिराटनगरले टिमको कप्तानी कसले गर्ने अधिकारिक घोषणा गर्नेछ।

पारसको स्थानमा बिराटनगर वारियर्सको कप्तानी Karan KC ले गर्ने सम्भावना रहेको छ

बिराटनगरमा आवद्ध रहेका अर्का अनुभवी राष्ट्रिय क्रिकेटर बसन्त रेग्मीले पनि ईपीएलबाट नाम फिर्ता लिईसकेका छ। रेग्मी हाल अमेरिकाको माइनर लिग क्रिकेट खेलीरहेका छन् र केहि समय पछि मात्रै नेपाल आउने हुँदा ईपीएल गुमाउनेछन्। अन्तिम पटक देब्रे हाते स्पिनर रेग्मीले यो वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर्स कपमा एपीएफको लागि खेलेका थिए।

बिराटनगर टिममा विदेशी खेलाडीको रुपमा जिम्बाब्वे अलराउण्डर सिकन्दर राजा, श्रीलंकाका दिलशान मुनविरा, वेस्टइन्डिजका चन्द्रपौल हेमराज र क्यानडाका रायनखान पठान रहेका छन्। टिममा करन केसी, आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान , अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल, प्रतिश जिसी, सन्दिप रजाली र सोनु देवकोटा जस्ता नेपाली खेलाडीहरु रहेका छन्।

ईपीएलमा भैरहवाले पहिलो खेल सेप्टेम्बर २६ तारिख आइतबार चितवन टाइगर्स बिरुद्ध खेल्दैछ। यस्तो दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा काठमाडौँ किंग्स-११ बिरुद्ध, तेश्रो खेल सेप्टेम्बर २९ तारिखमा बिराटनगर वारियर्स बिरुद्ध, चौथों खेल अक्टोबर १ तारिखमा ललितपुर पेट्रिएट्स बिरुद्ध तथा लिग चरणको अन्तिम तथा पाँचौ खेल सेप्टेम्बर २ तारिखमा पोखरा राइनोज बिरुद्ध खेल्नेछ।

२०१७ ईपीएलको विजेता टिम बिराटनगर वारियर्सको ईपीएलको गत सिजन खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy