एभरेष्ट प्रिमियर लिग ( इपिएल) को पहिलो खेलमा बिराटनगर र ललितपुर भिड्ने

मङ्सिर २२ ( डिसेम्बर ८ ) देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-२० को खेल तालिका सार्वजनिक भएको छ।

आयोजकले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको पहिलो दिन एकमात्र उद्घाटन खेलमा पारस खड्का कप्तान रहेको बिराटनगर वारियर्स र ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

बिराटनगर वारियर्स प्रतियोगिताको साबिक बिजेता समेत हो। प्रतियोगिताको सम्पूर्ण खेलहरु टियु क्रिकेट मैदानमा खेलाइने छ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्। लिगको प्रत्यक्ष प्रशारण एपीवान् टिभी एचडीले गर्नेछ।

प्रतियोगितामा अघिल्लो संस्करण जस्तै शिर्ष दुईमा पर्ने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन् र बिजेता टोलि सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै पराजित टोलीले भने दोस्रो क्वालिफायरमा लिग चरणको तेस्रो र चौथो टोलि बिचको एलिमिनेटर खेलको बिजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ।

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ। अघिल्लो सिजनको फाइनल खेलमा पारस खड्का कप्तानीको बिराटनगरले शरद भेसावाकर कप्तानीको भैरहवालाई रोमान्चक खेलमा १ रनले हराउंदै उपाधि जितेको थियो।

केहि दिनअघि प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता समेत पाएको थियो। आईसीसीलाई मान्यता वापत २० हजार डलर लिग आयोजकले तिरेको र आवस्यक पर्ने सबै दस्ताबेजहरु समेत पठाएपछि आईसीसीले मान्यता दिएको आयोजकले जानकारी गराएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy