गौचरन बन्यो फाप्ला मैदान – १६ करोड रुपैयाँ बजेट फ्रिज

कैलाली- प्रदेश गौरवको योजनाको रुपमा रहेको फाप्ला क्रिकेट मैदान गौचरणमा परिणत भएको छ । पूर्वाधार निर्माण र संरक्षणको काम हुन नसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भनिएको फाप्ला क्रिकेट मैदान गौचरनमा परिणत भएको हो ।

क्रिकेट खेलिने मैदानभरि हाल स्थानीयको गाईभैसी चर्ने गरेका छन् । जथाभावी पशुचौपाया पसेपछि मैदान संरक्षणका लागि गरिएको तारबार पनि बेकामे बनेको छ । प्रदेश वा स्थानीय सरकारले जग्गा उपभोगको अधिकार प्राप्त गर्न नसक्दा फाप्ला निर्माणको कार्य अझैसम्म नीति तथा कार्यक्रममामात्रै सीमित रहेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको बोराडाँडीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको चर्चा पाँच वर्ष अगाडिदेखि चल्दै आएको छ । तर, निर्माणको कार्य भने सुरु हुन सकेको छैन ।

रङ्गशाला निर्माणको कार्य अगाडि नबढेपछि गत आर्थिक वर्ष २०७५/०७६ मा छुट्टयाइएको १६ करोड रुपैयाँ बजेट फिर्ता गएको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले १२ करोड रुपैयाँ समपूरक, प्रदेश सरकारले पाँच करोड र धनगढी उपमहानगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

धनगढी प्रिमियर लिगको दौरान फाप्ला क्रिकेट मैदान। फोटो – सकुस केसी/विकेटनेपाल

तर, एक रुपैयाँ पनि खर्च हुन नसकी सबै रकम फ्रिज भएको सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताए । ‘जग्गा भोगाधिकार प्राप्त नभएकाले गएको आर्थिक वर्षमा कुनै पनि काम भएन’, उनले भने–‘तीन तहकै सरकारबाट विनियोजित सबै बजेट फ्रिज भएको छ ।’

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनाको रुपमा अगाडि बढाउन खोजेको छ । तर, अघिल्लो आर्थिक वर्षदेखि निर्माणको कार्य सुरु हुन नसकेपछि फाप्ला अहिले गौचरनमा परिणत भएको छ । मोफसलको सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डीपीएल) को बेला मैदान मर्मत गरिएको थियो । तर, डीपीएल सम्पन्न भएपछि मैदानको रेखदेख कसैले गरेको छैन ।

प्रदेश वा स्थानीय सरकारलाई जग्गा भोगाधिकार प्राप्त नभएकाले बजेट हुँदाहुँदै कुनै पनि काम अगाडि बढाउन नसकेको सचिव हमालले बताए । जग्गाको स्वामित्व प्राप्त गर्नका लागि प्रधानमन्त्रीको कार्यालयलाई फाइल पठाइएको र प्रधानमन्त्रीको कार्यालयले प्रस्ताव उठाएर भूमि सुधार मन्त्रालयमा पठाइसकेको उनले जनाए ।

‘जग्गा भोगाधिकारको निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि हामीले चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्छौ’, उनले भने–‘चालू वर्षभित्रै डीपीआरमात्रै तयार गर्न सकियो भने बढीमा चार वर्षभित्र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सकिन्छ ।’

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्शाला निर्माणको लागि प्रदेश सरकारले करिब २५/२६ बिघा जग्गा नेपाल सरकारसंग माग गरेको छ । मैदान रहेको आधाभन्दा बढी जग्गा सरकारी र केहि जग्गा विद्यालयको स्वामित्वमा रहेको बताइएको छ । माग भए अनुसारको जग्गा प्राप्त भएमा फाप्ला क्रिकेट रङ्गशालामात्रै नभइ बहुउद्देश्यीय खेलकुद मैदान निर्माण गर्ने कुरो पनि भइरहेको सचिव हमालले जनाए ।

‘एउटै मैदानभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशालासहित अरु खेल खेल्न सकिने मैदान, पाँच तारे होटल, हल, स्वीमिङ पुलसहितको बहुद्देश्यीय मैदान बनाउने भन्ने कुरो भइरहेको छ’, उनले भने–‘यसको लागि चार सय करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेका छौं ।’

यसअघि, पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलबाट फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्नु पर्ने कुरा पनि उठेको थियो । जसको लागि निजी क्षेत्रबाट ‘ड्रिम फाप्ला’ अभियान पनि सञ्चालन गरिएको छ । तर, मन्त्रालयले भने गौरवको ठूलो आयोजनालाई पीपीपी मोडलमा अगाडि बढाउन नसकिने बताएको छ ।

मुलुकमा ठूला योजनालाई पीपीपी मोडलमा निर्माण गरेको अभ्यास हालसम्म नभएको सचिव हमालले उल्लेख गरे- ‘फाप्लालाई सरकारले नै निर्माण गर्न सक्दछ’, उनले भने–‘किनभने, हामीसंग पैसाको कमी छैन । बरु, खर्च पो गर्न सकिरहेका छैनौं ।’

अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउनु पर्ने भएकाले ‘इन्टरनेशनल कम्पिटेटिभ बिडिङ (आइसीबी)’ मार्फत टेन्डर आह्वान गर्न आवश्यक हुने सचिव हमालको भनाइ छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको फाप्ला मैदानमा यसअघि नेपाल प्रिमियर लिग (एनपीएल), मुख्यमन्त्री कप, धनगढी प्रिमियर लिग लगायतका खेल भइसकेको छ । यहाँ अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण भएमा त्यसले पर्यटन, आर्थिक विकास लगायतमा ठूलो टेवा पु¥याउने बताइएको छ ।

ड्रिम फाप्ला अभियानका अभियन्ता सुवाश शाहीले प्रदेश र स्थानीय सरकारले फाप्ला क्रिकेट मैदानको संरक्षण गर्न सक्नु पर्ने बताए । ‘सरकारले चाहेमा एक जना चौकिदार राखेर पनि मैदानको संरक्षण गर्न सक्छ’, उनले भने–‘वर्षैभरि प्रतियोगिता हुन सक्ने मैदान गौचरन बन्नबाट रोक्नु पर्दछ ।’ उनले डीपीएल आयोजना हुँदा लाखौं खर्चेर पीच बनाइएको उल्लेख गर्दै थपे–‘पीच र मैदानको संरक्षण गर्न सकेको भए स्थानीय खेलाडीलाई खेल खेल्न सहज हुने थियो ।’

( साभार – अविनाश चौधरी/ गोरखापत्र)





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]