दंगाली गोर्खाजलाई नेपालगंज कपको उपाधि

  • विकेटनेपाल, १२ बैशाख 

आशिर्वाद पेन्ट्स नेपालगंजको क्रिकेट प्रतियोगिताको उपाधि दंगाली गोर्खाजले जितेको छ। फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको बिशाल अन्तरले पराजित गर्दै गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि संगै गोर्खाजले रु, १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले रु. ६० हजार प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृस्ट ब्याट्सम्यान रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृस्ट बलर दंगाली टाइगर्सका साहिद अन्सारी घोषित भए। यस्तै उदयमान खेलाडी दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही ( पाल्पा योद्धाज ) , फेयर प्लेयिंग टिम पाल्पा योद्धाज घोषित भए। फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भए।

उपविजेता रोल्पा गोरिल्लाज

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा पहिले ब्याटिंग गर्दै रोल्पाले दिएको ९० रनको लक्ष्य दंगालीले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा दंगालीका कप्तान सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै मात्र २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए। यस्तै मनोज सुनारले अविजित २४ रन बनाउन १९ बलमा ५ चौका प्रहार गरे।

Sadeep Sunar
सन्दिप सुनारले आक्रामक ब्याटिंग गरे

टस जितेर ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो।

अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो। कप्तान सौरभ खनाल ३, रमेश सिंह १ , आकाश थापा ५, नन्दन यादब १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, बसन्त कार्की ४ रनमा पेभेलियन फर्किएपछि गोरिल्ल्लाज लज्जास्पद योगफलतर्फ अघि बढेको थियो।

Anil Kharel
अनिल खरेलले ३ विकेट हात पारे

नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। शेर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए।

रोल्पालाई सस्तोमै समेट्न दंगाली गोर्खाजका देब्रे हाते स्पिनर अनिल खरेलले ३ विकेट लिए जसको लागि ४ ओभरमा मात्र १६ रन खर्चिए। यस्तै सन्दिप सुनारले २ विकेट लिन ४ ओभरमा १ मेडन ओभर सहित २५ रन खर्चिए। बिष्णु कटरिया, हरि क्षेत्री, शहिद अन्सारी र सगर ढकालले समान १ विकेट लिए।

बैशाख ३ गते देखि सुरु भएको प्रतियोगितामा ६ वटा फ़्रेन्चाइज टिमहरुको सहभागिता रहेको थियो।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy