- विकेटनेपाल, पौष -४ बुधबार
अस्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिगको आठौँ संस्करण आजदेखि सुरु भएको छ। प्रतियोगिता २०१९ फेब्रुअरी १७ तारिकसम्म आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा एडलेड स्ट्राइकर्सले ब्रिसबेन हिट्सलाई ५ विकेटले पराजित गरेको छ।
बिग ब्यास लिगमा नेपाली गुग्लि ब्वाई सन्दिप लामिछानेले पनि सहभागिता जनाउँदै छन्। सन्दिपलाई ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सले नोभेम्बर महिनामा आफ्नो टिममा अनुबन्धन गरेको थियो। लिग खेल्न सन्दिप काठमाण्डौमा चलिरहेको एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको लागि सुरुवाती २ खेल खेलेर अघिल्लो हप्ता अस्ट्रेलिया पुगीसकेका छन्।
मेलबर्न स्टार्सको टिम:
ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा रहेका छन्।

यस्तो छ मेलबर्न स्टार्सको खेल तालिका
यहि डिसेम्बर १९ तारिख देखि आयोजना हुन लागेको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा ब्रिसबेन हिट र एडलेड स्ट्राईकर खेल्ने छन्। मेलबर्न स्टार्सले भने आफ्नो पहिलो खेलमा डिसेम्बर २१ मा सिड्नी थन्डरसँग उसकै घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ। त्यसपछि २४ तारिकमा होबार्ट हरिकेन्ससंग तथा २७ तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ।
डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५९ वटा खेल हुनेछन्।
खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ। माथि दिईएको समय (केहि पनि नखुलाई सुरुवातमा) नेपाली समय हो।
मेर्लबर्न स्टारर्सले सन्दिपलाई गत महिना टिममा आबद्ध गरेको थियो। बिग ब्यास खेलेबापत सन्दिपले ६०-७० हजार डलर पाउने बताईएको छ।

बिग ब्यास लिगमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरि ८ टिम रहेका छन्। राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राईकरले जितेको थियो भने पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ३ पटक उपाधी कब्जा गरेको छ।
सन्दिपको टिम मेलबर्नले प्रतियोगिता अन्तर्गत यसअघि भएका ६ वटा संस्करणमा निरन्तर उत्कृस्ट प्रदर्शन गर्दै आएको थियो। त्यो समयमा उसले ५ पटक सेमिफाइनलमा स्थान बनाएको थियो भने १ पटक उपबिजेता बन्न सफल भएको थियो। तर पछिल्लो (सातौँ) संस्करणमा भने खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो।
सन्दिपको स्थानमा प्लङ्केट
सन्दिप लामिछाने बिग ब्यास लिग प्रतियोगिता जारि रहँदै गर्दा बंगलादेशको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न जाने भएकोले उनको स्थानमा इंग्ल्याण्डका तिब्र गतिका बलर लियाम प्लङ्केटले पनि टिममा स्थान बनाएका छन्। बिपिएल ५ जनवरी देखि ८ फेब्रुअरी २०१८ सम्म खेल्ने तालिका रहेको छ। सन्दिप बिपिएल अन्तर्गत अस्ट्रेलियाका डेविड वार्नरको कप्तानीमा स्यलहेट सिक्सर्स खेल्दै छन्।
यसअघि सन्दिपको स्थानमा इंग्ल्याण्डकै अर्का घरेलु क्रिकेटका चर्चित नाम लेग ब्रेक बलर म्याट पार्किन्सन आउने बताइएको थियो। तर उनि घाइते भएपछी प्लङ्केटले बनाएका हुन्। प्लङ्केटले अहिलेसम्म इंग्ल्याण्डको लागि १३ टेस्ट, ७४ एकदिवसीय र २० टि२० खेल खेलेका छन् भने विभिन्न घरेलु टि-२० मा १३६ खेलको अनुभव बटुलेका छन्। उनी अघिल्लो संस्करणमा सन्दिप समेत सम्मिलित आइपिएल टिम दिल्ली डेयरडेभिल्सका सदस्य समेत हुन्।
बिग ब्यासमा आबद्ध हुनु अघिनै बिपिएल टिम सिल्याट सिक्सरसँग आफुले पहिलेनै प्रतिबद्दता जनाइसकेको कारण उनि बीचमा बंगलादेश फर्किन लागेका हुन्। सन्दिप बंगलादेश प्रिमियर लिग सकिएपछी बिग ब्यास लिगमा बचेको खेलहरु खेल्न पुनः अस्ट्रेलिया फर्किने छन्।
सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन् भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।
आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।