U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी पहिलो खेलमा लुम्बिनीसंग ९ विकेटले तथा दोश्रो खेलमा बागमतीसंग ७५ रनले पराजित भएको थियो। पहिलो खेलमा लुम्बिनीलाई १४० रनले पराजित गरेको कर्णालीले दोश्रो खेलमा प्रदेश-१ सन् ७६ रनको हार बेहोरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ११४ रनको लक्ष्य पछ्याएको गण्डकीले ७ विकेट गुमाएर २६.५ ओभरमा भेटायो। गण्डकीको ब्याटिंगमा दिपक डुम्रेले सर्वाधिक ३४ रन, उत्सभ श्रेष्ठले २६ रन, अर्जुन कुमालले १४ रन तथा सुजन गौतमले १३ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा गण्डकीले एक समय ५५ रन बनाउदा एक मात्र विकेट गुमाएको थियो। तर १३ औं ओभरमा अर्जुन कुमाललाई सन्दिप शाहीले बोल्ड गरेपछि गण्डकीले लगातार विकेट गुमाउ पुग्यो। एक किनार सम्हालेका दिपक डुम्रे १९ औं ओभरमा आउट भए। २२ औं ओभरमा निश्चल रावलले आक्रामक ब्याटिंग गरिरहेका उत्सभ श्रेष्ठ र कमल परियारलाई पेभेलियन फर्काए। फलस्वरुप ९२ रनमा गण्डकीले ६ विकेट गुमायो। त्यसपछि सुबास भण्डारी र सुजन गौतमले टिमलाई जित नजिक पुर्याए। २० रनको साझेदारी गरेपछि जित्न २ रन आवस्यक हुँदा सुजन आउट भए। त्यसपछि किरन पौडेलले अविजित ४ तथा सुबासले अविजित ६ रन बनाउदै जितसम्म पुर्याए।

कर्णालीको बलिंगमा सन्दिप शाही ( ४-२-१६-२ ) र निश्चल रावलले ( ४-१-२४-२ ) समान दुई विकेट तथा अनुज चनारा ( ७-०-३०-१ ) , रुपक दाहाल ( ३-२-१-१ ) र दिनेश पुनले ( २-०-९-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको कर्णालीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११३ रन बनाएको थियो। कर्णालीको ब्याटिंगमा प्रकाश जैशीले सर्वाधिक २६ रन, अनुज चनाराले २२, रुपक दाहालले २० तथा सुवास ऐयरले १७ रन बनाए ।

अत्यन्तै खराब सुरुवात गरेको कर्णालीले ३५ रनको योगफलमै ५ विकेट गुमाएको थियो । त्यसपछि राज शाह र प्रकाश जैशीले छैटौं विकेटको लागि २७ रनको साझेदारी गरे। कमल परियारले जैशीलाई आउट गर्दै साझेदारी तोडे । त्यसपछि अन्तिममा रुपक दाहाल र अनुज चनाराले केहि आक्रामक सट खेल्दै योगफल सय पार गराए।

गण्डकीको बलिंगतर्फ देब्रे हाते स्पिनर कमल परियारले ६ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै किरण पौडेलले ३ विकेट ( ७-०-२१-३ ) तथा सुदिप अर्याल र सुबास भण्डारीले समान १ विकेट लिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy