धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने गौतम बुद्ध कप एकदिवसीय प्रतियोगिताको लागि सहभागी टिम र खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ। प्रतियोगिताको आयोजन बागमती प्रदेश क्रिकेट संघ र सहआयोजना चितवन क्रिकेट संघले गरेको हो।
मङ्सिर २७ देखि ३० गते सम्म आयोजना हुने प्रतियोगितामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु तथा बागमती प्रदेशका खेलाडीहरु समेत सहभागी गरेर तिन वटा टिम तयार गरिएको छ। टिमको नाम बागमती प्रदेशको नदिहरुको नामबाट ‘नारायणी’, ‘बागमती’ र ‘राप्ती’ राखिएको छ।
नारायणी, बागमती र राप्ती टिमको कप्तानी क्रमशः पारस खड्का, ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले गर्नेछन्।
आयोजक बागमती प्रदेशले बुधबार सार्वजानिक गरेको खेलतालिका अनुसार मङ्सिर २७ गते उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र पारस खड्का कप्तानीको नारायणीले प्रतिस्पर्धा गर्नेछन्। मङ्सिर २८ गते बागमती र बिनोद भण्डारी कप्तानीको राप्तीले तथा मङ्सिर २९ गते राप्ती र नारायणी बीच प्रतिस्पर्धा हुनेछ। तिन वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट हुने दुइ वटा टिमबीच फाइनल खेल मङ्सिर ३० गते आयोजना हुनेछ।

घोषित टोलिमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका उपकप्तान दिपेन्द्र ऐरी र कुशल मल्ल भने छैनन्। दुवै खेलाडी घाइते भएपछि खेल्न नसक्ने भएका हुन्। कुशलको हातमा तथा दिपेन्द्रको खुट्टामा समस्या रहेको छ।
कुन टिममा को-को छन् खेलाडीहरु :-
बागमती : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सोमपाल कामि र अनिल साह, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की , आकाश थापा, संघर्ष पौडेल
नारायणी : पारस खड्का (कप्तान), सुबास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव
राप्ती : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी
नेपाली राष्ट्रिय क्रिकेट टिमले गत वर्ष मार्चमा थाइल्याण्डमा एसीसी इस्टर्न टि-२० प्रतियोगिता पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन। २ साता अघि देखि बन्द प्रशिक्षण सुरु गरेको नेपाली टिमको लागि ‘गौतम बुद्ध कप’ पुष ११ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीयको लागि तयारी गर्ने प्रतियोगिता पनि हुनेछ।