भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत पाँचवटा टेस्टको सिरिजबाट भारतीय युवा ओपनर शुबमन गिल बाहिरिएका छन्। भारत र इंग्ल्यान्ड बीच अगस्ट ४ तारिखबाट टेस्ट सिरिज सुरु हुँदैछ।
गिललाई पिडुलाको चोट लागेको हो जसबाट निको हुन उनलाई अझै तिन महिना समय लाग्नेछ।
गिल घाइते भएपछि भारतीय टिम व्यवस्थापन र छनोटकर्ता बीच विवाद सिर्जना भएको छ। टिम व्यवस्थापन गिलको स्थानमा पृथ्वी शलाई इंग्ल्यान्ड बोलाउन चाहीरहेको छ जसको विपक्षमा छनोटकर्ता रहेका छन्।
इंग्ल्यान्ड भ्रमणमा ओपनिंग बिकल्पको रुपमा रन्जी क्रिकेटमा बङ्गालका ओपनर अभिमन्यु इश्वरनलाई मौका दिईएको छ। इश्वरनले २०१९/२० को रन्जी ट्रफी सिजनमा राम्रो प्रदर्शन नगरेकाले टिम व्यवस्थापन उनि टेस्ट खेल्न तयार नभएको बताउदै हाल श्रीलंका भ्रमणमा रहेका पृथ्वी शलाई बोलाउन चाहिरहेको छ। तर छनौटकर्ताहरु भने यस अघिनै ओपनरको बिकल्पमा इश्वरनलाई पठाइएकोले उनको छनोटको औचित्य नहुने धारणा राखेका छन्।
टिममा छनौट भैसकेका इश्वरनलाई अब आएर बिकल्प नमान्ने र अन्य खेलाडी बोलाउदा इश्वरनको आत्मविश्वासमा असर गर्ने बुझाई छनौटकर्ताको रहेको छ।
भारतीय टिम व्यवस्थापनले गिल घाइते हुँदा प्रमुख छनौटकर्ता रहेका पूर्व फास्ट बलर चेतन शर्मालाई दुई वटा ओपनर इंग्ल्यान्ड पठान पत्र लेखिसकेको बताईएको छ।
पृथ्वी श संगै टिम व्यवस्थापनले आईपीएलमा बिराट कोहली कप्तानीको टिम बैंगलोरका ओपनर देभदत्त पडीक्कललाई पनि बोलाउन चाहन्छ। हाल पडीक्कल र श सिमित ओभर सिरिज खेल्न श्रीलंकामा रहेका छन्।
इंग्ल्यान्ड भ्रमणमा ओपनरको भूमिकामा खेल्न रोहित शर्मा, मायाँक अग्रवाल र केएल राहुल पनि टिमसंग रहेका छन्।
