ग्लोबल टि-२० : हारे बाहिरिने खेलमा सन्दिप र सोमपालको टिम आमने-सामने

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत आज २ वटा महत्वपूर्ण खेल खेलिंदैछन्। प्ले-अफ चरण अन्तर्गत पहिलो क्वालीफायर अन्तर्गत ब्राम्पटन र भानकुभर नाइट्स तथा इलिमीनेटरमा टोरोन्टो नेसनल्स र विन्नीपेग हक्स बीच खेल खेलिनेछ।

ब्राम्पटन र भानकुभर बीचको खेलको विजेता फाइनल प्रवेश गर्नेछ। यस खेलमा पराजित हुने टिमले फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। उक्त टिमले आजै राति हुने दोश्रो खेलमा टोरोन्टो र विन्नीपेग बीचको विजेतासंग दोश्रो क्वालीफायर खेल्नेछ।

ब्राम्पटन र भानकुभर बीचको खेल नेपाली समय राति १०:१५ बजे सुरु हुनेछ भने टोरोन्टो र विन्नीपेग बीचको खेल राति २:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको दोश्रो चरणको खेल सकिंदा अंकतालिकामा ब्राम्पटन पहिलो, भानकुभर दोश्रो , टोरोन्टो तेश्रो र विन्नीपेग चौथो हुँदै प्लेअफ चरण प्रवेश गरेको हो।

सन्दिप र सोमपाल आमने सामने होलान् ? 

प्रतियोगितामा दोश्रो पटक सन्दिप र सोमपालको टिम टोरोन्टो र विन्नीपेग आमनेसामने हुनेछन्। यस अघि लिग चरणमा दुइ टिम आमनेसामने हुँदा विन्नीपेग ३ विकेटले विजयी भएको थियो। तर त्यस खेलमा सन्दिप र सोमपाल दुवैले मौका पाएका थिएनन्। सोहि दिन क्यानडा पुगेका हुनाले उनीहरुलाई आराम दिईएको थियो।

प्रतियोगितामा सन्दिपले हालसम्म ३ खेल खेलेका छन् र सबै खेलमा १/१ विकेट लिंदै कुल ३ विकेट लिएका छन्। सोमपालले भने मात्र १ खेलमा मौका पाएका छन्। सोमपालले एडमोन्टन बिरुद्ध खेलमा २ ओभर बलिङ्ग गर्दै ३३ रन खर्चिएका थिए र विकेटविहिन रहेका थिए। ब्याटिंगमा सोमपालले अविजित १ रन बनाएका थिए।

सन्दिपले पहिलो खेलमा ब्राम्पटन बिरुद्ध ४४ रन खर्चेर १ विकेट, दोश्रो खेलमा मोन्टरियल टाइगर्स बिरुद्ध २८ रन खर्चेर १ विकेट तथा तेश्रो खेलमा मोन्टरियल बिरुद्धनै २५ रन खर्चेर १ विकेट लिएका थिए।

सन्दिप लामिछाने नियमित रुपमा टिमको हिस्सा रहेका कारण विन्नीपेग बिरुद्ध खेल्ने पक्का छ तर पहिलो खेलमा प्रभावित बनाउन असफल सोमपालले अर्को मौका पाउनेछन् या छैनन् हेर्न लायक हुनेछ।

विन्नीपेगको प्रदर्शन 

अंकतालिकामा ६ खेलमा २ जित, ३ हार र १ नतिजाविहिन अंक सहित चौथो स्थानमा रहेको विन्नीपेगले प्रभावित बनाउने प्रदर्शन गर्न सकेको छैन। टिमको कप्तानी वेस्टइन्डिज क्रिकेटर रायड इमरिटले गरिरहेका छन् भने टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता क्रिकेटर रहेका छन्।

पहिलो खेलमा मोन्टरियलसंग २४ रनले पराजित भएको विन्नीपेगले दोश्रो खेलमा भानकुभरलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि तेश्रो खेमा टोरोन्टोलाई ३ विकेटले पराजित गरे पछि ब्राम्पटनसंग ७ विकेटले तथा एडमोन्टनसंग ८ विकेटले पराजित भएको थियो। दोश्रो चरणको भानकुभरसंगको खेल वर्षाले रद्द हुनपुगेको थियो।

टोरोन्टोको प्रदर्शन 

युभराज सिंह कप्तानीको टिमले ६ खेलमा ३ जित र समान हार सहित अंकतालिकामा तेश्रो रहेर प्लेअफ प्रवेश गरेको हो। टिममा युभराज सहित मोइसेस हेनरिक्स, क्रिस ग्रिन, मिचेल म्याकलेनघन, हेनरीच क्लासेन जस्ता क्रिकेटर रहेका छन्।

Sandeep Lamichhane

पहिलो खेलमा भानकुभरसंग ८ विकेटले पराजित भएपछि टोरोन्टोले दोश्रो खेलमा एडमोन्टन रोयल्सलाई २ विकेटले पराजित गरेको थियो। तेश्रो खेलमा विन्नीपेगसंग ३ विकेटले तथा चौथो खेलमा ब्राम्पटनसंग ११ रनले पराजित भएपछि पाँचौ र छैठौं खेलमा मोन्टरियललाई ४ विकेट र ३५ रनले पराजित गरेको थियो।

टिम कप्तान युभराज सिंह ढाडको समस्याको कारण घाइते हुनाले अघिल्लो खेल खेलेका थिएनन् भने विन्नीपेग बिरुद्ध पनि खेल्ने नखेल्ने निश्चित भएको छैन।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy