ज्ञानेन्द्र मल्ल सहित सबै खेलाडीले गरे रिपोर्टिंग, पहिलो दिनको अभ्यास सम्पन्न

२०७८ पुष १९, सोमबार १९:५०

नेपाल क्रिकेट संघले अनुशासनको कारवाही स्वरूप ६ महिनाको अनुबन्धमा नराख्ने कारवाही फिर्ता लिएपछि ज्ञानेन्द्र मल्ल सहित सोमपाल कामि, कमल सिंह ऐरी र दिपेन्द्र ऐरीले टि-२० विश्वकप छनोटको लागि बन्द प्रशिक्षणमा सहभागी हुन रिपोर्टिंग गरेका छन्।

हाल अस्ट्रेलियामा बिग ब्यास लिग खेलीरहेका कप्तान सन्दिप लामिछाने बाहेक बन्द प्रशिक्षणमा रहेका अन्य २९ जना खेलाडी होटल पुगेर रिपोर्टिंग गरेका छन्। सम्पूर्ण खेलाडीहरु अब मंगलबार देखि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।

कारवाहीमा परेका खेलाडीहरुले सन्दिपलाई कप्तान बनाइएको निर्णय सहित सम्पूर्ण कारवाही फिर्ता लिन माग गरेता पनि क्यान कप्तानमा सन्दिपनै रहने निर्णयमा अडिग रहेको थियो। मल्ल सहित क्यान अध्यक्ष चतुर बहादुर चन्द, प्रशिक्षक पुबुदु दासानायेकेले वार्ता गरेपछि दुवै पक्षले लचकता अपनाएका थिए। सहमति पछि मल्ल लगायत खेलाडीहरु बन्दप्रशिक्षणमा सहभागी भएका हुन्।

नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबार सुरु भएको छ। प्रशिक्षक पुबुदु दासानायेकेले पहिलो दिन उपस्थित १४ जना खेलाडीहरुलाई फिटनेस अभ्यास गराएका थिए। युवा देब्रे हाते स्पिनर सागर ढकाल बिरामी भएका कारण अभ्यासमा पुग्न सकेनन्। दोश्रो दिन मंगलबार अन्य अभ्यास सुरु हुनेछ।

क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो।

<strong>३० सदस्यीय प्रारम्भिक टिम </strong>: सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

टि-२० विश्वकप २०२२ मा कुल १६ टोलि सहभागी हुँदैछन् जसको लागि १२ टोलिको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश सुपर-१२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। ग्लोबल क्वालीफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालीफायर ‘बि’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालीफायरमा उत्कृस्ट हुने दुई/दुई टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्।

टि-ट्वान्टी विश्व कप ग्लोबल छनोट ( ए ) मा नेपाल सहित आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएई सहभागी हुँदैछन्। यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वे सहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम थाहा हुनेछ।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पहिलो पटक सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ। हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका सन्दिप लिगको समाप्ति पछि जनवरीको अन्तिम साता नेपाल पुग्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy