काठमान्डु गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस

२०८२ कार्तिक ११, सोमबार १४:४७

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् ।

सोमबार आफ्नो २८ औं जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।

रिकार्डो पछिल्लो समय इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन् । साथै उनी यस टोलीको कप्तान पनि रहेका थिए । दुई महिना अघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३ सय ४२ रन बनाएका थिए । भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाज रिकार्डोको अनुबन्धनलाई लिएर निकै उत्साहित छ । मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको काठमान्डु गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई लिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाजले खेल्ने छ । टोलीको प्रशिक्षकमा बसन्त शाही रहेका छन्

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy