रोमान्चक खेलमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गर्दै हार्दिक पान्ड्या कप्तानीको गुजरात टाइटन्सले आईपीएल १५ मा विजयी सुरुवात गरेको छ।
मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले ५ विकेट क्षेतीमा २ बल बांकी रहँदै भेटायो।
लक्ष्य पछ्याउने क्रममा ओपनर शुबमन गिल र विजय शंकरलाई दुश्मन्था चमिराले सुरुवातमै पेभेलियन फर्काए। तेश्रो विकेटको लागि म्याथु वेडले हार्दिक पान्ड्यासंग ५७ रन जोडे। एघारौं ओभरमा पान्ड्या ३३ रन र लगत्तै ओभरमा वेड ३० रन बनाएर आउट भए। पाँचौ विकेटको लागि डेभिड मिलर र राहुल तेवतियाले ६० रनको साझेदारी गरे। ३० रन बनाएका मिलरलाई आभेस खानले अठारौं ओभरमा क्याच आउट पारे। त्यसपछि राहुल तेवतियाले आक्रामक सटहरु खेल्दै टिम टिमलाई जितसम्म पुर्याए।
तेवतियाले २४ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ४० रन बनाए। अभिनभ मनोहरले ७ बलमा ३ चौका मद्दतले अविजित १५ रन बनाए।
लखनउका बलर दुश्मन्था चमिराले २ विकेट तथा आभेस खान, क्रुनाल पान्ड्या र दिपक हुडाले १/१ विकेट लिए।
टस हारेर ब्याटिंग गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ६ विकेट क्षेतीमा १५८ रन बनायो।
लखनउले २९ रन बनाउदा ४ विकेट गुमायो। कप्तान केएल राहुल, क्विन्टन डीकक र मनिष पाण्डेलाई मोहम्मद शामीले पावरप्लेको ओभर भित्रै पेभेलियन फर्काए। पाँचौ विकेटको लागि दिपक हुडा र आयुष बादोनिले ८७ रनको साझेदारी गर्दै इनिंग्स उकासे। १६ औं ओभरमा हुडा ५५ रन बनाएर राशिद खानबाट आउट भए। ५४ रन बनाएका बादोनीलाई अन्तिम ओभरमा वरुण अरुनले क्याच आउट पारे।
गुजरात टाईटन्सका बलर मोहम्मद शामीले ३ ( ४-०-२५-३ ) विकेट लिए भने वरुण अरुणले २ तथा राशिद खानले १ विकेट लिए।