गुल्सन र सन्दिपको साझेदारीको नयाँ कीर्तिमान, गुल्सनले तोडे सन्दिपको अर्को कीर्तिमान

गुल्सन झा र सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा साझेदारीको नयाँ कीर्तिमान कायण गरेका छन्।

जिम्बाब्वेमा जारि एकदिवसीय विश्वकप छनोट अन्तर्गत आयरल्याण्डसंगको खेलमा आठौँ विकेटको लागि गुल्सन र सन्दिपले ८० रनको साझेदारी गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। यो नै नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा आठौँ विकेटको लागि उच्च साझेदारी हो।

यस अघि यो रेकर्ड सन्दिप लामिछाने र दिपेन्द्र ऐरीको नाममा थियो। २ दिन अघि मात्रै युएई विरुद्ध दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले आठौँ विकेटको लागि अविजित ७९ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए। एक खेल पछिनै उक्त रेकर्ड तोडिएको हो। आठौँ विकेटको लागि तेश्रो उच्च साझेदारीमा पनि सन्दिपकै नाम रहेको छ। सन्दिपले आसिफ शेखसंग यो वर्ष मार्चमा विश्वकप लिग-२ को पपुवा न्यु गिनी विरुद्धको खेलमा अविजित ७७ रनको साझेदारी गरेका थिए।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले १६९ रन बनाउदा कुशल मल्लको रुपमा सातौँ विकेट गुमाएपछि गुल्सन र सन्दिपले उत्कृस्ट साझेदारी गरे। ४९ औं ओभरमा आउट हुनु अघि सन्दिपले ३० बलमा ३ चौका र १ छक्का मद्दतले ३२ रन बनाए। गुल्सन ५७ रनमा अविजित रहे जुन क्रममा ४ चौका र ३ छक्का प्रहार गरे।

गुल्सनले तोडे सन्दिपको कीर्तिमान

खेलमा गुल्सनले बनाएको ५७ रन नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नवौं नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले बनाएको उच्च स्कोर मात्र नभई पहिलो अर्धशतक पनि हो। गुल्सनले सन्दिप लामिछानेको कीर्तिमान तोड्दै यो रेकर्ड बनाएका हुन्। सन्दिपले यसै वर्ष मार्चमा पपुवा न्यु गिनी विरुद्ध विश्वकप लिग-२ को खेलमा नवौं नम्बरमा ब्याटिंग गर्दै अविजित ३५ रन बनाएका थिए।

उक्त साझेदारीको बलमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाउदै आयरल्याण्डलाई २६९ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। खेलमा विजयी हुने टिमले विश्वकप छनौटको सातौँ स्थान ओगट्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy