पहिलो पटक उदयमान फास्ट बलर गुलशन झालाई समाबेश गर्दै आईसीसी विश्व कप लिग-२ अन्तर्गत सेप्टेम्बरमा ओमानमा हुने नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले २० सदस्यीय टिमको घोषणा गरेको छ।
नेपाल पुलिस क्लबको प्रतिनिधित्व गरेका दायाँ हाते पेसर गुलशन झाले मार्चमा सम्पन्न काठमाडौँ मेयर्स कपमा शशस्त्र प्रहरी बल एपीएफ बिरुद्ध फाइनल खेलमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। प्रतियोगितामा उनले मात्र २ खेल खेलेता पनि आफ्नो घातक बाउन्सर र गतिले सबैको मन जितेका थिए।
क्यानले घोषित गरेको टिममा पारस खड्काको नाम समेत रहेको छ। क्यानले टिमको चयन पारसले सन्यास घोषणा गर्नु अघिनै गरिसकेको थियो। पारसको नाम २० औं नम्बरमा राख्दै क्यानले उनले सन्यास घोषणा गरेकोले बन्द प्रशिक्षणमा सहभागिता नजनाउने बताएको छ।
क्यानले असारमा नामिबिया र स्कटल्याण्डसंगको सिरिजको लागि घोषित गरेको टिममा पृथु बास्कोटा र सन्दिप जोरालाई बाहिर राखेको छ जसको स्थानमा रोहित पौडेल र गुलशन झालाई राख्दै टिम घोषणा गरिएको छ। पृथु हाल अमेरिकाको माइनर लिग क्रिकेट खेलीरहेका छन्। नामिबिया र स्कटल्याण्डसंगको सिरिज कोरोनाका कारण स्थगित भएको थियो।

यस्तै घोषित नेपाली टिममा घरेलु एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पवन सर्राफ, बिक्रम सोब र शाहब आलमले स्थान बनाएका छन्। यस्तै नेदरल्याण्ड र मलेसिया बिरुद्ध घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टोलिमा रहेका छन्।
घोषित टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा
त्रिकोणात्मक सिरिजको अधिकारिक मिति हालसम्म क्यान र आईसीसीले घोषणा गरेको छैन। सिरिजको लागि नेपालले बन्द प्रशिक्षक बिहिबार देखि सुरु गर्ने बताएको छ।
