कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोमबार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्सले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षकसमेत रहेका मल्ललाई टिममा भित्र्याएको हो ।

यसअघि नै हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मार्की खेलाडीमा सोमपाल कामी पाएको छ । यसअघि हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले १ करोड ११ लाखमा कर्णालीयाक्सको खरिद गरिसकेको छ ।

डेढ दशक नेपाली क्रिकेट टिमको प्रतिनिधित्व गरेको ज्ञानेन्द्र मल्लले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी २० अन्तर्राष्टियमा ४५ खेल खेल्दै ८ सय ८३ रन बनाएका थिए । उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए ।

कर्णालीका मालिक जनक दत्त खनालले पूर्व कप्तान मल्ललाई अनुबन्ध गरेसँगै टिममा नयाँ अध्याय सुरु भएको बताए । ‘नेपाली टिमको पूर्व कप्तानलाई टिममा भित्र्याउन पाउँदा सिंगो कर्णाली टिम खुसी छ,’ उनले भने, ‘मल्लको आगमनसँगै टिम नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौं ।’

प्रशिक्षक मल्लले कर्णाली टिमसँग आवद्ध हुँन पाउँदा उत्साहित भएको र आफ्नो अनुभव टिमसँग साट्न पाउनुलाई अवसरको रुपमा लिएको बताए । ‘एनपिएलमा कर्णाली याक्सबाट आफ्नो सहभागिता जनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । कर्णाली याक्सको योजनाले मलाई प्रभावित पार्यो । कर्णाली याक्सले मलाई टिम दिएर जुन विश्वास गरेको छ । आफ्नो अनुभव टिममा प्रयोग गर्नेछु ।’

यस्तै, कार्यक्रममा क्लबको निर्देशकमा गृहेन्द्र घिमिरेलाई नियुक्त गरिएको छ । उनले नेपाली क्रिकेट र कर्णाली याक्सलाई नयाँ उचाइमा पुर्याउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, बिनिता कठायत, मनिष झा, सोभिता गौतम तथा क्यानका सचिव पारस खड्का लगायतको सहभागिता रहेको थियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy