कप्तान ज्ञानेन्द्र मल्ललाई देखियो कोरोना

२०७७ मंसिर १०, बुधबार १९:१६

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुनु अघि मंगलबार मल्ल सहित १६ जना राष्ट्रिय क्रिकेटरहरु , सपोर्ट स्टाफ तथा ग्राउण्ड स्टाफहरुको कोभिड-१९ परिक्षण गरिएको थियो।

कप्तान मल्ल आफैले फेसबुक मार्फत आफ्नो कोभीड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन्।

“सम्पूर्ण स्वास्थ्य सावधानि अपनाउनुको बाबजुद मेरो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। मेरो सम्पर्कमा आउनु भएका सम्पूर्ण व्यक्तिहरुलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्न चाहन्छु।” मल्लले लेखेका छन्।

मल्लका अनुसार उनलाई कुनै पनि स्वास्थ्य समस्या भने देखिएको छैन –

“म पूर्णत फिट छु र अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन। तै पनि अब निको हुनको लागि म आगामी केहि दिन क्वारेन्टाइनमा बिताउने छु।” मल्लले सबैलाई कोभीड-१९ लाई लिएर सावधानी अपनाउन समेत आग्रह गरेका छन्।”

मल्ल बन्द प्रशिक्षणमा सहभागी हुन आउनु अघि चितवन भ्रमणमा पुगेका थिए जुन दौरान उनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला समेत भ्रमण गरेका थिए।

क्यानले अन्य खेलाडीको कोभिड-१९ रिपोर्ट भने बाहिर सार्वजनिक गरेको छैन। विकेटनेपालले टिमका व्यवस्थापक बिक्रम न्यौपाने संग सम्पर्क गर्दा सबै खेलाडीको रिपोर्ट आइसकेको र क्यानले आफै जानकारी दिने बताए।

राष्ट्रिय टिमले आज प्रशिक्षण सुरु गर्ने बताएता पनि कोभिड-१९ रिपोर्ट ढिला आएका कारण बिहिबार प्रशिक्षण सुरु गर्ने बताएको छ। रिपोर्ट नेगेटिभ आएका खेलाडीहरु मात्र प्रशिक्षणमा सहभागी हुनेछन्। रिपोर्ट नेगेटिभ आएपछि मल्ल पुनः टिममा सामेल हुनेछन्।

बुधबार गरिएको स्वाव संकलनमा बन्दप्रशिक्षणको लागि छनौट भएका २२ जना मध्ये १६ जना खेलाडी उपस्थित रहेका थिए। ६ जना खेलाडीहरु ( शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सन्दिप लामिछाने, करन केसी र कुशल मल्ल ) भने अत्यावश्यक व्यक्तिगत कारण देखाएर उपस्थित हुन सकेनन्। कुशल मल्लको हाल १२ कक्षाको परिक्षा चलीरहेकोले अनुपस्थित रहेका हुन् भने अन्य खेलाडीहरुले अत्यावश्यक व्यक्तिगत कारण देखाएको न्यौपानेले जानकारी गराए।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy