फर्ममा फर्किएका हुन् ज्ञानेन्द्र मल्ल ? यस्तो छ उनको फर्म प्रति समर्थकको र मल्ल स्वयमको बुझाइ

पोखरा, दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत शनिबारको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई पराजित गर्यो । शनिबार पोखरा क्रिकेट रङ्गशालामा काठमाडौँले विराटनगरलाई ३६ रनले पराजित गरेको हो। खेलमा काठमाडौँका लागि जयकिसन कोल्सवाले सर्वाधिक ५५ रन बनाए। यस्तै काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाउन सफल रहे।

विगत केही समय देखि ‘आउट अफ फर्म रहेको’ भन्दै समर्थकको आक्रोश खेपिरहेका ज्ञानेन्द्रले यो पटक भने समर्थकलाई गलत सावित गरिदिएका छन् । बरु अहिले उल्टै समर्थकले ज्ञानेन्द्रले नै क्रिजमा पहिले ओपनिङ गर्दै फिनिसिङको काम पनि गर्न सक्ने बताउन थालेका छन् । कुनै बेलामा आफुहरुले ज्ञानेन्द्रले रेष्ट लिनु पर्छ भन्ने गरेको तर अहिले ज्ञानेन्द्रले आफुहरुलाई गलत तुल्याएको समर्थकहरुले बताउन थालेका छन्।

तीनै समर्थक मध्यका एक हुन्– शिशिर काफ्ले । शिशिरले नेपाली राष्ट्रिय क्रिकेट टिमको कुनै पनि खेल नछुटाएको बताउँछन् । मल्लको वर्तमान खेल कस्तो लागिरहेछ? भन्ने प्रश्नमा उनले मल्लको खेल राम्रो भइरहेको महशुश गरेको बताए।

उनले आफुले पनि विगतमा मल्लको प्रदर्शन खस्किएको भन्दै मल्लप्रति धेरै रिस उठ्ने गरेको बताउँछन्। ‘पहिले उहाँले (ज्ञानेन्द्र) आफ्नो जिम्मेवारी बहन नगरी खेलेर उल्लेख्य प्रदर्शन नगर्दा फ्यान भएकाले रिस उठ्थ्यो ।’ काफ्लेले भने – ‘आफ्नो टोलीको महत्वपूर्ण सदस्यले नराम्रो खेल्दा हामीलाई(समर्थक) रिस उठ्नु स्वभाविक पनि हो।’

काफ्लेले अहिले मल्लले ३ नम्बरमा ब्याटिङ गर्दा निकै राम्रो खेल प्रस्तुत गरिरहेको अनुभव सुनाए । ‘उहाँले अहिले नम्बर ४ मा निकै राम्रो गरिरहनु भएको छ, अझै राम्रो खेलेर आफ्नो मजबुत पक्ष उहाँले देखाउनुहुनेछ भन्ने आश गरेका छौँ।’ काफ्लेले मल्लप्रति अझै आशावादी रहेको बताए।

उनले मल्ल आफ्नो फर्ममा आउनु निकै सुखदायी भएको समेत बताए । ‘उहाँ फर्ममा फर्कनु निकै सुखदायी छ ।’ काफ्ले भन्छन्,‘फर्ममा रहेर राष्ट्रिय टिमका लागि सकारात्मक प्रभाव पारेको देख्न पाइयोस् ।’

धनगढी ब्लुज बिरुद्ध मल्लले पीपीएलकै पहिलो शतक बनाएका थिए

समर्थकहरुले भनेझैँ साँच्चै नै मल्ल आफ्नो फर्ममा फर्किएका पनि छन् । २०१९ को सुरुवात देखि २०१९ को १२ औं महिनासम्म आइपुग्दा मल्लले तीन वटा शतक प्रहार गरेका छन्। पछिल्लो एक महिनामा उनको ब्याटबाट २ शतक निस्केको छ । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफ विरुद्द शतक प्रहार गरेका मल्लले यही डिसेम्बरमा भुटान विरुद्द आक्रामक अन्तराष्ट्रिय शतक बनाए । अहिले चलिरहेको पोखरा प्रिमिएर लिग(पीपीएल)मा समेत मल्लले धनगढी विरुद्द शतक बनाए।

जारी पीपीएलमा अहिले उनी सर्वाधिक रन स्कोररको सुचीको शीर्ष स्थानमा समेत रहेका छन् । ४ खेलमा उनले ४०.२५ को औसतमा १६१ रन बनाएका छन्। पीपीएलकै गत सिजन मल्लले ६ खेलमा मात्र १३३ रन बनाएका थिए जसमा उनको सर्वाधिक स्कोर ३१ रन मात्र थियो। यो पटक मल्ल लयमा आउदा उनको टिम काठमाडौँले पनि जित हात पार्न थालेको छ। पछिल्लो २ खेल काठमाडौँले जित्दा मल्लको योगदान महत्वपूर्ण रहेको छ।

मल्ल स्वयंले आफ्नो फर्म राम्रो बनिरहेको बताएका छन्। शनिबार विराटनगरसँगको खेल पश्चात् मल्लले आफ्नो फर्ममा सुधार आएको र यसलाई निरन्तरता दिन प्रयासरत रहने प्रतिक्रिया जनाए- ‘मेरो फर्म राम्रै भइरहेको छ, यसलाई अझै निरन्तरता दिन प्रयास गर्ने छु ।’
विराटनगरसँगको खेल पश्चात् भिन्न प्रसङ्गमा बोल्दै कप्तान मल्लले सोचे अनुरुपको जीत हासिल गर्न नसकेको बताए- ‘बढी अन्तरको जीत चाहन्थ्यौ, रनरेटमा सकारात्मक प्रभाव होस् भन्ने सोचेका थियौँ ।’ मल्लले भने,‘पुनितले गरेको विष्फोटक ब्याटिङ गरेपछि, मार्जिन कम बन्न पुग्यो।’

उनले चितवनसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए। चितवनलाई विजयी यात्रा कायम राख्ने प्रेसर रहने र आफुहरु कडा प्रतिस्पर्धा दिएर चितवनको विजयी लय रोक्ने लक्ष्य रहेको मल्लले सुनाए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]