पूर्व कप्तान ज्ञानेन्द्र मल्लको सन्यास – “मनै देखि अहिले उपयुक्त समय लाग्यो”

२०८० श्रावण १९, शुक्रबार १९:४७

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्पूर्ण किसिमको क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौँ नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले सन्यासको औपचारिक घोषणा गरेका हुन्। त्यस क्रममा मल्लले करिब दुई दशक राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा सन्तुष्टि व्यक्त गरे।

https://www.youtube.com/watch?v=3vKk5lcM40U

“१८ बर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ । राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ सत प्रतिशत दिने प्रयास गरेँ । यो अवसरहरूका लागि म धेरै कृतज्ञ छु, आएका कठिन परिस्थितिहरुलाई पनि सिकाईका रुपमा लिएँ । समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु ।”

“यो विदाई होइन; यो मेरो यात्राको नयाँ अध्याय हो । एउटा यात्रा जहाँ म खेलकुदको कट्टर समर्थक, यसको विकासको साक्षी र मलाई माया गर्ने देशको झण्डा गर्वका साथ सधै उच्च रहेको हेरेर बस्ने छु ।” मल्लले बताए।

सन् २००६ मा राष्ट्रिय क्रिकेट टिमको लागि नामिबिया विरुद्ध विन्ढोकमा आईसीसी इन्टर कन्टिनेन्टल कप ( चार दिवसीय ) डेब्यु गरेका मल्लले सन् २०१४ मा टि-२० अन्तर्राष्ट्रिय र सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यस अघि मल्लले सन् २००५ मा नेपाली अन्डर-१५ राष्ट्रिय टिमको लागि खेलेका थिए। उनले नेपालको १७ वर्ष मुनि र उन्नाइस वर्ष मुनि राष्ट्रिय टिमको पनि प्रतिनिधित्व गरे।

नेपालको लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा उनले २४.३३ को औशत र ६६.४६ को स्ट्राइक रेटले ७ अर्धशतक प्रहार गर्दै ८ सय ७६ रन बनाए। यस्तै उनले ४५ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २३.२३ को औशत र १२०.२९ को स्ट्राइक रेटमा १ शतक र २ अर्धशतक प्रहार गर्दै ८८३ रन बनाए। बलिंगतर्फ उनको नाममा एक एकदिवसीय अन्तर्राष्ट्रिय विकेट रह्यो।

अन्तिम पटक यो वर्ष जुलाईमा जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेलेका मल्ललाई त्यसपछि श्रीलंकामा सम्पन्न इमर्जिंग टिम्स कपको टिममा समावेश गरिएको थिएन। यस्तै सेप्टेम्बर १९ देखि चिनमा आयोजना हुने एसियन गेम्सको टिममा समेत उनलाई समावेश गरिएको छैन।

पछिल्लो समय लय वाहिर रहेका मल्लले नेपालको लागि अन्तिम १० खेल खेल्दा मात्र ७३ रन बनाउन सकेका थिए। सोहि लयका कारण उनि पछिल्लो समय राष्ट्रिय टिमको अन्तिम एघार भित्र पर्न संघर्षरत थिए। एकदिवसीय विश्वकप छनोटमा समेत मल्लले मात्र दुई खेलमा मौका पाउँदा अन्य खेलमा बेन्चमा बस्नु परेको थियो।

यो महिना अन्तिममा पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप जस्तो महत्वपूर्ण प्रतियोगिता आउदै गर्दा मल्लले सन्यासको बाटो रोज्नुको पछाडी आफुले शतप्रतिशत योगदान दिन नसक्नु कारण रहेको उनले खुलाए –

“यत्रो वर्ष खेले देशको लागि, आफ्नो र परिवारको लागि खेले। मनै देखि अहिले उपयुक्त समय लाग्यो। राष्ट्रिय टिमबाट खेलीसके पछि शत प्रतिशत मैले योगदान दिन सक्दिन भने राष्ट्रिय टिममा रहिरहनु न्याय हुन्छ जस्तो लागेन।” उनले बताए।

https://www.youtube.com/watch?v=ihvUgOOKwdM

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy