चितवनको भरतपुर नगरपालिका वडा नबर-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अवधारणाको घोषणा गरेको छ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान सुरु गरेको हो। यो अभियामा १ लाख रुपैयाँ सहयोग गरेको खण्डमा रंगशालाको एक कुर्सिलाई दाताले आफ्नो नामको बनाउन सक्नेछन्।
निर्माणाधीन रंगशाला ३० हजार सिट क्षमताको हुनेछ जसबाट १ लाखको दरले यो अभियान मार्फत फाउन्डेसनले ३ अर्ब रुपैयाँ संकलन गर्ने उद्देश्य राखेको छ। व्यक्ति मात्र नभई आफ्नो परिवार, क्लब, संस्था लगायत समुहले पनि ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान मार्फत सहयोग गर्न सक्नेछन्।
पत्रकार सम्मेलनमा अभियानको घोषणा गर्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) ले समाज र अन्य संघ संस्थालाई रंगशाला निर्माण अभियानसंग जोड्न यो अभियानको थालनी गरीएको बताए। कार्यक्रममा यो अभियानलाई सहयोग गर्नको लागि याप समेत सार्वजनिक गरिएको थियो जुन संचालनमा आउन १ महिना समय लाग्नेछ। उक्त यापबाटै ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा दाताहरुले सहयोग गर्न सक्नेछ।
रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरि छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ। ‘हाम्रो रंगशाला मेरो कुर्सि’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था गरिएको छ।
परियोजनामा हालसम्म ३० प्रतिशत काम सम्पन्न भैसकेको तथा मैदानको काम ८५ प्रतिशत भैसकेको फाउन्डेसनले बताएको छ।
११ करोड ऋणमा गौतम बुद्ध रंगशाला
सोमबार पत्रकार सम्मेलनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामाको आमदानी र खर्च विवरण समेत सार्वजनिक गरेको थियो। परियोजनाको कुल लागत रकमको ९.१० प्रतिशत रकम मात्र संकलन भएको छ।
हालसम्म रंगशालाको लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ संकलन भएको छ। संकलित रकम भन्दा बढी अर्थात् ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ हालसम्म खर्च भैसकेको छ। कुल ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ऋणमा परियोजना रहेको छ।
कुन शिर्षकमा कति खर्च
हालसम्म सबै भन्दा बढी खर्च आईरन स्टिल ( रड डण्डी ) खरिद शिर्षकमा १६ करोड २ लाख ६४ हजार , ७ सय १९ रुपैयाँ भएको छ। यस्तै सिमेन्ट खरिदमा २ करोड २८ लाख ६० हजार ५ सय ३२ रुपैयाँ, बालुवा गिटि खरिदमा १ करोड १० लाख ९ हजार ५ सय ६८ रुपैयाँ, निर्माण मेशिनरी औजार भाडा तथा मर्मत खर्च २ करोड ४७ लाख ६४ हजार ७ सय ५४ रुपैयाँ, निर्माण ज्याला तथा मेशिनरी अपरेटर खर्च ४ करोड ७८ हजार १ सय ६८ रुपैयाँ, सामान ढुवानी खर्च १ करोड ५९ लाख, ७७ हजार ५ सय २० रुपैयाँ, इन्धन खरिदमा १ करोड ४६ लाख ८८ हजार ६ सय १८ रुपैयाँ खर्च भएको छ।
यस्तै अन्य निर्माण सामग्री खरिद खर्च १ करोड ७३ लाख २० हजार ३ सय ७५ रुपैयाँ, रेडीमिक्स कंक्रिड ( एम ३५ ) मा २ करोड ७९ लाख ५२ हजार ५ सय ५२ रुपैयाँ, नमुना मैदानमा १० लाख ४२ हजार ९ सय ६९ रुपैयाँ, रेडी मिक्स कंक्रिड ( एम २५ ) मा २ करोड ७६ लाख ३० हजार ११ रुपैयाँ तथा प्राविधिक कर्मचारी तलव खर्च १ करोड २ लाख ६४ हजार ६ रुपैयाँ भएको छ।
https://wicketnepal.com/lahore-shandar-jit-wn21/
https://wicketnepal.com/epl-naya-miti-ghoshana-wn21/