जन्मदिन बिशेष: सुवास खकुरेलका रोचक तथ्यहरु

नेपाली क्रिकेट टिमका भरपर्दा ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सुवास प्रसाद खकुरेलको जन्म आजका दिन भएको थियो। सोहि अवसरमा नेपाली क्रिकेट टिमका  दायाँ हाते प्रतिभाशाली ब्याट्सम्यान खकुरेलको बारेमा रोचक तथ्य तपाईहरु सामु प्रस्तुत गरेका छौ  ।

अमेरिकाका प्रशिक्षक प्रभावित

सन् २०१० को विश्व क्रिकेट लिग प्रतियोगिता नेपालमा आयोजना भएको थियो। प्रतियोगिता अगाडी अमेरिकासँग भएको अभ्यास खेलमा सुवास खकुरेलले मात्र ३४ बलको सामना गर्दै आक्रामक ५३ रन बनाएका थिए। उक्त पारिपछी अमेरिकाका तात्कालिक प्रशिक्षक तथा पुर्व वेस्ट इन्डिजका खेलाडी क्ल्याएटन लाम्बर्टले तारिफ गर्दै उनि नेपालको टिममा नरहेकोमा आश्चर्यमा परेको जनाएका थिए।

त्यसको केहि समयपछी उनि नेपालको उमेर समूह (यु१९) टिममा विश्वकप छनोट प्रतियोगिताका लागि छानिएका थिए।

उमेर समूहमा गज्जबको प्रदर्शन

नेपालको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नु अघि सुवास खकुरेलले नेपालको लागि यु १९ उमेर समूहमा समेत प्रतिनिधित्व गरेका थिए। सन् २०११ को यु १९ विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले अफगानिस्तानको सामना गर्दा सुबास खकुरेलले खेलमा सर्वाधिक ५२ रन प्रहार गर्दै म्यान अफ द म्याच हुँदा ९२ बलमा ५ चौका प्रहार गरेका थिए। नतिजा नेपालले ४२ रनले आफ्नो पक्षमा पार्दा राहुल बिश्वकर्माले पनि ५ विकेट लिन २३ रन खर्चेका थिए।

नेपालले उक्त छनोट प्रतियोगितामा ९ खेलबाट ७ जित र २ हार सहित १४ अङ्क बटुल्दै सन् २०१२ को यु१९ विश्वकपको लागि छानिएको थियो।

त्यसपछि सन् २०१२ मा अस्ट्रेलियामा आयोजित विश्वकपमा आफ्नो समूहमा रहेका अस्ट्रेलिया, इंग्ल्याण्ड र आयरल्याण्डसँग नेपाल पराजित भएपनि सुवासले इंग्ल्याण्डबिरुद्दको खेलमा ५५ रन बनाउने क्रममा ७० बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। अहिले इंग्ल्यान्डबाट खेलिरहेका क्र्याग ओभरटनको बलमा एलबिडब्ल्यु सिकार भएपनि पुर्व पास्कितानी बलर वासिम अक्रमको आँखामा परेका थिए।

Subash Khakurel
रास्ट्रिय प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्ने गर्छन्

राष्ट्रिय टिमका लागि लगातार राम्रो प्रदर्शन

सन् २०१२ को यु१९ विश्वकप पछी राष्ट्रिय टिममा रहेका उनले सोहि वर्ष आयोजना भएको विश्व क्रिकेट लिग डिभिजन ४ अन्तर्गत अमेरिका बिरुद्द ११५ रनको पारि खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका थिए। १४२ बलको सामना गर्दा १० चौका र २ छक्का प्रहार गरेका उनले राष्ट्रिय टिमबाट पाएको पहिलो म्यान अफ द म्याच अवार्ड थियो।

त्यस्तै सोहि प्रतियोगिताको फाइनलमा पनि नेपालको भेट पुनः अमेरिकासँग भएको थियो जहाँ उनले अविजित ४० रनको (६६ बल, १ चौका, १ छक्का) पारि खेल्दै नेपाललाई उपाधी जिताएर डिभिजन ३ मा बढुवा गराएका थिए।

त्यसलगत्तै २०१२ एसीसी इलाइट ट्रफीको फाइनलमा युएई बिरुद्द ५५ रनको महत्त्वपूर्ण पारि खेलेका थिए जसको मद्दतले खेल बराबरी हुँदै दुबै टिमले उपाधी साझेदारी गरेका थिए भने २०१३ को एसीसी ईमर्जिंग टिम्स कपमा ईशान अदिल, बिलावल भाट्टी, हसन राजा जस्ता अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नामहरु रहेको पाकिस्तान बिरुद्द ७८ रनको (१२७ बल, ९ चौका, १ छक्का) पारि खेलेका थिए।

त्यसपछि २०१३ को टि२० विश्वकप छनोटमा केन्याबिरुद्द ४८ बलमा ६ चौका सहित ५४ रनको पारि, २०१४ को एसीसी प्रिमियर लिगमा युएईबिरुद्द ७१ रनको (९१ बल, ११ चौका) पारि खेलेका छन्।

विश्वकपमा अफगानिस्तानबिरुद्द अर्धशतक

हंगकंगलाई प्रतियोगिताको पहिलो खेलमा हराएर उत्साहित नेपाल आफ्नो दोश्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो। तेस्रो खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा छोटो समयमा नै उचाई चुमेको अफगानिस्तान थियो जो सँग नेपाल पछिल्ला धेरै भिडन्तमा जित हातपार्न सकेको थिएन। योपालि चुनौती थियो, साथै अवसर पनि, क्रिकेट कै सबैभन्दा ठुलो प्ल्याटफर्ममा हराएर अघिल्ला खेलहरुको बदला लिनु।

उक्त खेलमा टस जितेको नेपालका लागि पहिले ब्याटिंग गर्दै सुबास खकुरेलले ५६ रन बनाउन ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। उनि नेपालको लागि अन्तर्राष्ट्रिय खेल (आइसीसीद्वारा अन्तर्राष्ट्रिय मान्यता भनेर दिइएको खेल) मा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए। उक्त खेल नेपालले ९ रनले जितेको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy