भारतमा जारि १४ औं आईपीएल अन्तर्गत शुक्रबार पन्जाब किंग्सको लागि बैंगलोर बिरुद्ध यो सिजन पहिलो पटक मौका पाएका देब्रे हाते स्पिनर हरप्रित ब्रारले बिराट कोहली, ग्लेन म्याक्सवेल र एबि डी भिल्लीयर्सको विकेट लिंदै पन्जाबको जितमा उत्कृस्ट योगदान दिए। ४ ओभरमा मात्र १९ रन खर्चेर ३ विकेट लिएपछि प्लेयर अफ द म्याच चुनिएका ब्रारको दिन याददार रहयो।
को हुन् ब्रार, आईपीएल खेल्न संघर्ष
सेप्टेम्बर १५, १९९५ मा भारत पन्जाबको सानो शहर मोगामा जन्मिएका ब्रारले जन्मस्थलमा पन्जाब अन्तर जिल्ला प्रतियोगिताहरु खेलेर करियर सुरु गरे। सुरुवात देखिनै नियमित विकेट लिंदै उनले स्थानीयस्तरमा चर्चा बटुल्न थाले।
उनको देब्रे हाते स्पिन बलिंग चेन्नाई सुपर किंग्सका अलराउण्डर रभीन्द्र जडेजाको जस्तो छ। उनको बल पिचमा ठोकिएपछि ब्याट्सम्यान टर्नको लागि खेल्ने गर्छन् तर बल सिधा विकेटतर्फ जाने गर्छ।
हरप्रितले २०११ मा पन्जाब अन्डर-१६ टिमको प्रतिनिधित्व गरे र राम्रो प्रदर्शन पनि गरे। तर त्यसपछि पन्जाबको यु-२३ टिममा मौका पाउन उनले ७ वर्ष कुर्नुपर्यो।
क्रिकेटमा करियर बनाउने ब्रारको दृढ संकल्प एकातर्फ थियो भने करियरको अनिश्चितता अर्कोतर्फ। उनका आफन्तहरुले पनि क्रिकेट खेल्न सुरु गरेता पनि आर्थिक कठिनाइका कारण बीचमै क्रिकेट छोड्न बाध्य थिए। ब्रारमा पनि सोहि दबाब रहेको थियो।
यस्तो समय आएको थियो जब ब्रार आफ्नो आफन्तहरुको बिहेमा जान समेत छोडीसकेका थिए। किनकि आफन्तहरु उनको आमालाई ‘क्रिकेट खेलेर केहि हुँदैन, सबै खेल्छन् तर खेलेर केहि पनि पाइदैन’ भन्ने गर्थे। तर ब्रार उनीहरुलाई गलत प्रमाणित गर्न चाहन्थे। क्रिकेटमा केहि नभए उनि पन्जाब पुलिसमा जाने सोचमा थिए जहाँ उनको पिता ड्राइभरको रुपमा काम गर्ने गर्थे, अथवा स्टुडेन्ट भिसामा क्यानडा जान सक्थे। तर उनले सबै छोडेर क्रिकेटमा एक पटक पुनः प्रयास गर्ने निर्णय लिए।
हरप्रित पन्जाब अन्तर जिल्ला प्रतियोगितामा नियमित रुपमा सर्वाधिक विकेटकर्ता रहने गर्थे। तर उनको टिम रुपार रेलिगेट भएपछि ६ फिट २ इन्च अग्ला क्रिकेटर मोहाली पुगे जहाँ उनलाई भारतीय क्रिकेटर गुरकिरत सिंह मानले सहयोग गरे। मोहालीमा ब्रारले झनै राम्रो प्रदर्शन गरे।
मोहालीमा खेल्दा ब्रारसंग क्रिकेट ब्याट किन्ने पैसा समेत हुने गर्थेन। गुरकिरत सिंह मानले उनलाई नयाँ ब्याटहरु समेत किनेर दिने गर्थे।
“ब्याटहरु निकै महँगो हुन्थ्यो त्यसैले एउटै ब्याटलाई मर्मत गर्दै लामो समय खेल्नु पर्थ्यो।” ब्रारले २०१९ मा पन्जाब किंग्सको वेबसाइटमा कुराकानीको क्रममा बताएका छन्। “गुरकिरत पाजीले मलाई ब्याट समेत किनेर उपहार दिनु भएको छ।”
२०१८ मा पन्जाब यु-२३ को लागि डेब्यु गरेका उनले शानदार प्रदर्शन गरे जुन क्रममा उनले सीके नायडु ( ४ दिवसीय ) क्रिकेट प्रतियोगितामा ११ खेलमा ५६ विकेट लिंदै तेश्रो सर्वाधिक विकेटकर्ता रहे। त्यस क्रममा उनले ६ पटक एकै खेलमा ५ विकेट लिए भने उत्कृस्ट प्रदर्शन २३ रन खर्चेर ७ विकेट रह्यो। उक्त प्रतियोगिता खेल्न सुरु गर्दा ब्रारलाई आफ्नो समय सकिदै गएको भान हुने गर्थ्यो। त्यस अघि उनले उनले २ पटक मुम्बई इन्डीयन्सको ट्रायलमा सहभागिता जनाएका थिए जहाँ उनि असफल भएका थिए।
तर उनको मेहनत र प्रदर्शन लामो समय लुकेर बस्न सकेन। पन्जाब यु-२३ टिमको लागि गरेको उत्कृस्ट प्रदर्शनको बलमा उनलाई पन्जाबले २०१८ नोभेम्बरको अक्सनमा २० लाख भारुमा २०१९ सिजनको लागि टिममा लियो।
त्यस अघि ब्रारले ७ वर्षमा ४ पटक आईपीएल ट्रायलमा सहभागिता जनाएका थिए। लामो समय आईपीएलको ढोका खोल्ने प्रयास उनको असफल रहेता पनि २०१८ मा आएर पुरा भयो।
२०१९ आईपीएलमा पन्जाबको लागि डेब्यु गर्ने क्रममा उनलाई पन्जाब कप्तान रभीचन्द्रन आश्विनले रहस्यमयी स्पिनरको रुपमा टसमा चिनाएका थिए। उनले दिल्ली क्यापिटल्स बिरुद्ध टिमले १२९ रनमा ६ विकेट गुमाएको अवस्थामा आठौँ नम्बरमा आउदै आक्रामक ब्याटिंग गर्दै १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २० रन बनाए। त्यस इनिंग्समा कागीसो रबाडाको बाउन्सरमा हिर्काएको छक्का समेत सामेल थियो। बलिंगमा भने उनले उक्त खेलमा २ ओभरमा २४ रन खर्चेर विकेटविहिन रहे। उनलाई पावरप्लेमा बलिंग गर्ने मुस्किल काम दिईएको थियो। पहिलो बलमै शिखर धवनले उनको बलमा छक्का प्रहार गरे जुन ओभरमा उनले १७ रन खर्चिए। उक्त सिजन २ खेलमा मौका पाएका उनले ५ ओभर बलिंग गर्दा विकेट भने लिन सकेनन्।
त्यसपछि २०२० आईपीएलमा उनले चेन्नाई बिरुद्ध खेलमा मौका पाए जुन खेलमा उनले ४ ओभरमा ४१ रन खर्चेर विकेटविहिन रहे।
त्यसपछि पनि घरेलु क्रिकेटमा ब्रारको प्रदर्शन राम्रो रह्यो। यो वर्ष सुरुवातमा मुस्ताक अलि ट्रफीमा ब्रारले ७ विकेट लिए जुन क्रममा उनले ५.७० को शानदार इकोनोमिमा बलिंग गरे। पन्जाब लिग चरणमा अपराजित रहँदै सेमीफाइनल पुग्न उनको योगदान महत्वपूर्ण थियो।
सपना पुरा भएको दिन
२०२१ सिजनको लागि आईपीएल मिनी अक्सनमा ब्रारलाई पन्जाबले रिटेन गर्यो। लिगमा पन्जाबले खेलेको ६ मध्ये ४ खेलमा हार बेहोरेपछि बैंगलोर बिरुद्ध खेलमा पन्जाबले तिन वटा परिवर्तन गर्दै ब्रारलाई मौका दियो।
ब्रारले पहिलो इनिंग्समा कप्तान केएल राहुलसंग सातौँ नम्बरमा ब्याटिंग गर्दै १७ बलमा अविजित २५ रन बनाए। उनको इनिंग्सको मद्दतले पन्जाबले १७९ रनको चुनौतीपूर्ण योगफल तयार गर्न सकेको थियो।
तर ब्रारको बलबाट जादु बाँकीनै रहेको थियो। ब्रारको पहिलो बलमै कोहलीले छक्का प्रहार गरे। पहिलो २ ओभरमा उनले १७ रन खर्चिए र विकेटविहिन रहे। तर उनले गरेको तेश्रो ओभरमा भने उनले जादु गरे। ओभरको पहिलो र दोश्रो बलमा बिराट कोहली र ग्लेन म्याक्सवेललाई उनले बोल्ड गरे। उक्त ओभरमा उनले कुनै पनि रन नखर्ची २ विकेट लिए र पन्जाबलाई खेलमा फर्काए। उनि त्यतिमै सिमित रहेनन् स्पेलको अन्तिम ओभरमा एबि डी भिल्लीयर्सलाई उनले सर्ट कभरमा क्याच आउट गराए। ४ ओभरको स्पेलमा उनले १ मेडन ओभर गर्दै १९ रन खर्चेर कोहली, म्याक्सवेल र डी भिल्लीयर्सको विकेट लिए।
आईपीएलमा उनले गरेको पहिलो ११ ओभरमा १०६ रन खर्चिदा ब्रार विकेटविहिन रहेका थिए। तर त्यसपछिको ७ बलमा उनले विश्व क्रिकेटका ३ ठुला स्टारलाई पेभेलियनको दिशा देखाए पनि कुनै पनि रन खर्चिएनन्।
आईपीएलमा पहिलो विकेटनै बिराट कोहलीको लिएपछि ब्रारको खुसिको सिमा थिएन- “मेरो पहिलो आईपीएल विकेट बिराट कोहलीको रह्यो जुन मेरो लागि निकै विशेष थियो।” ब्रारले खेलपछि कुराकानीमा बताए।
“एक पटक तपाईले विकेट पाएपछि मानसिकता थोरै परिवर्तन हुने गर्छ, त्यसले आत्मविश्वास दिने गर्छ कि तपाईको बल राम्रो खसीरहेको छ त्यसपच मैले लय पाएँ र अझै विकेट पनि।”
“एकदम सपना जस्तो लागिरहेको छ।”
( क्रिक्इन्फो, टाईम्स अफ इन्डीया, क्रिकबजको सहयोगमा )
धेरैले पढेको
https://wicketnepal.com/ipl-m26th-pbks-vs-rcb-report-wn21/
https://wicketnepal.com/karan-kc-4-world-record-wn21/
https://wicketnepal.com/jamieson-denied-to-bowl-kohli-in-rcb-nets/