फाप्ला रंगशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्तिपत्र हस्तान्तरण

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त ुभएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्य पदमा मनोनीत गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्री गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपाली खेलकुदकै ‘ड्रिम प्रोजेक्ट’ भएकाले राम्रोसँग जिम्मेवारी बहन गर्न आग्रह गरे ।

उनले यस रङ्गशाला निर्माणका लागि सबै राजनीतिक दलहरुका साथ र सहयोग लिन अध्यक्ष शाहीलाई सुझाव दिँदै प्रदेश सरकारलाई उक्त रङ्गशाला निर्माणका लागि उपयुक्त रकम छुट्याउन आग्रहसमेत गरेको बताए । त्यस्तै अध्यक्ष सुवास शाहीले निर्धारित समयमा रङ्गशाला र खेलग्राम निर्माणको कार्य सम्पन्न गराउन आफू दिनरात मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्नका लागि सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ जारी गरेको थियो ।

सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेश बमोजिम दुई जना मनोनित र बाँकी ७ जना पदेन सदस्य रहने व्यवस्था छ । उक्त समितिलाई सोमबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो ।

धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुंग्गो लागिसकेको थियो । फाप्लाको पहिचान देखि जग्गा प्राप्तिसम्म अनवरत रुपमा खटिएका शाही नेतृत्वको विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित विभिन्न खेलका पूर्वाधारहरु निर्माणको जिम्मेवारी हुनेछ ।

शाहीको नेतृत्वमा सन् २०१५ देखि नै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान छेडिएको थियो। गौचरणका रुपमा रहेको फाप्लालाई शाहीले स्तरोन्नती गर्दै सुरुमा स्थानीय लिगहरु सञ्चालन गरेका थिए । नेपालको पहिलो पहिलो फ्रेन्चाइज लिग क्रिकेटका रुपमा धनगढी प्रिमियर लिग(डीपीएल)को आयोजना शाहीले फाप्लामै गराएपछि भने यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

त्यसयता लगातार फाप्लामा रंगशाला निर्माण अभियानमा खटिएका शाहीले स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारसँग नियमित समन्वयन गर्दै फाप्लालाई राष्ट्रिय प्राथमिकताको आयोजनामा पार्न सफल भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि भने फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यले गती लिएको हो । कांग्रेस नेतृ तथा समाजसेवी आरजु राणा देउवाले सुदूरपश्चिमको मुहार फेरिदिने यस प्रोजेक्टलाई विशेष चासो दिदैँ प्राथमिकतामा राख्न विशेष पहल गरेसँग विकास समिति मोडेलमा फाप्ला निर्माण कार्यअघि बढेको हो ।

अध्यक्ष शाहीले सरकारलाई धन्यवाद दिदैँ सुदूरपश्मिको ड्रिम प्रोजेक्टका रहेको फाप्लालाई अघि बढाउँन नेतृत्वदायी भूमिका खेल्नुहुने प्रधानमन्त्री देउवा र नेतृ राणा देउवाप्रति आभार व्यक्त गरे । उनले निर्धारित समयमा रंगशाला निर्माणको कार्य सम्पन्न गराउँन आफू दिनरात नभनि कार्य गर्ने प्रतिबद्धता जनाए।

‘फाप्लामा रंगशाला र खेलग्राम निर्माण कार्य अघि बढाउँने जिम्मेवारी मैले पूरा गर्नसक्छु भनेर विश्वास गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु,’ शाहीले भने, ‘विकास समितिको गठनसँगै अब रंगशाला निर्माणको कामले गति लिनेछ। हामी निर्धारित समयमा रंगशाला निर्माणका प्रतिबद्ध छौं ।’

गठन आदेश अनुसार पहिलो वैठक बसेको मितिले तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्नेछ ।

शाहीको अध्यक्षतामा बनेको ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन् । त्यसबाहेक सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष तथा नेपाल सरकारले मनोनयन गरेकी महिला सदस्यमा स्थानीय कल्पना दिवाकोटी समितिको सदस्य हुनेछन् ।

परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्न खेलकुद मन्त्रालयले उपसचिव सरहका एकजना निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिने आदेशमा उल्लेख छ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]