विश्वकप छनोट एसिया : नेपाल हंगकंगसंग स्तब्ध

२०७८ मंसिर ६, सोमबार १४:२१

युएईमा आज सुरु भएको टि-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको छ। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल हंगकंगसंग पराजित भएको यो पहिलो पटक हो।

युएईको आईसीसी ग्लोबल एकेडेमी मैदानमा नेपालले दिएको १०५ रनको लक्ष्य हंगकंगले ४ विकेट क्षेतीमा २ ओभर बाँकी रहँदै भेटायो। हंगकंगको ब्याटिंगमा ओपनर मरिको हिलले सर्वाधिक ४४ रन योगदान दिईन् जुन क्रममा ४२ बलमा ४ चौका प्रहार गरिन्। यस्तै केरी चानले १७, नताशा माइल्सले १६ तथा इमा लाईले अविजित १३ रन योगदान दिईन्।

हिलले दोश्रो विकेटको लागि माइल्ससंग २४ रनको, तेश्रो विकेटको लागि चानसंग २८ रनको, चौंथो विकेटको लागि शानजिन शाहजादसंग २५ रनको तथा पाँचौ विकेटको लागि लाईसंग २७ रनको साझेदारी गरिन्। नेपालको बलिंगमा कविता कुँवर ( ४-०-१८-१ ) , सिता राना मगर ( ४-०-१८-१ ) र सबनम राईले ( २-०-१४-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। नेपालको लागि सिता राना मगरले सर्वाधिक ४० रन योगदान दिईन् जुन क्रममा ५७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै इन्दु बर्माले ३७ बलमा ३ चौका मद्दतले अविजित ३१ रन बनाईन्।

ओपनर कविता कुँवर पहिलो ओभरमा खाता नखोली तथा काजल श्रेष्ठ ४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि ओपनर सिता राना मगरले इन्दु बर्मासंग ८१ रनको साझेदारी गरिन्। सिता अन्तिम ओभरमा रन आउट हुन पुगिन्। हंगकंग बलर चान का मान ( ४-१-१२-१ ) र केरी चानले ( ४-०-१६-१ ) समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल मंगलबार ( नोभेम्बर २३ ) भुटानसंग खेल्नेछ। खेल नेपाली समय दिउसो ३:१५ बजे सुरु हुनेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy